काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ। राष्ट्र बैंकको यो निर्णयले सर्वत्र चासो बढाएको छ।
आखिर किन झिक्दैछ त राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ? राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका यो रकम झिक्न लागेको हो। केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ।
पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट यो रकम झिक्न लागेको बताइएको छ।
यसका लागि राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नले छन्। यसको साँवा तथा ब्याज भुक्तानी फागुन १७ गते हुनेछ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।



