झापा। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा देशको पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो।
कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ।
आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजारले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।
चालु आवको ४ महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ। उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी १ अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ।
यस्तै, उक्त ४ महिनाको अवधिमा ८२ करोड ६३ लाख मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख मूल्य पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको हुमागाईँले जानकारी दिए।



