काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका सबै एम्बुलेन्स तथा शववाहनहरुको विवरण अद्यावधिक गर्ने भएको छ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (HEOC) ले देशभर सञ्चालनमा रहेका सबै एम्बुलेन्स तथा शववाहनको अद्यावधिक विवरण आवश्यक रहेको भन्दै सम्बन्धित संस्थाहरुलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
विवरण उपलब्ध गराउँदा खरिदको स्रोत र वर्ग, राजस्व छुट लिएको वा नलिएको, संचालन अनुमति लिएको वा नलिएको, चालकको नाम, ब्लुबुकको कपी, हालसम्म अन्य कुनै संस्थाबाट अनुदानमा एम्बुलेन्स वा शव वाहन लिएको नलिएको उल्लेख गर्न भनिएको छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जारी भएको एम्बुलेन्स सेवा निर्देशिका २०८२ तथा शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७७ जारी गरिएको पत्रमा भनिएको छ।
आम नागरिकलाई, प्रभावकारी, ब्यवस्थित, मितब्ययी तथा सेवामैत्री एम्बुलेन्स र शवबाहन सेवाको लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहेको पत्रमा उल्लेख छ।
मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सरकारी, निजी, साझेदारी, गैरसरकारी तथा विभिन्न संस्थाका सबै एम्बुलेन्स र शववाहनहरूको जानकारी २०८२ मंसिर २१ गतेभित्र इमेल ठेगाना heocmohp@gmail.com मा पठाउन अनुरोध गरेको छ।
पेश गर्नुपर्ने विवरणहरूमा निम्न समावेश छन्:
• संस्थाको नाम
• एम्बुलेन्स/शववाहन सञ्चालन भएको जिल्ला र स्थान
• एम्बुलेन्सको वर्ग
• एम्बुलेन्स/शववाहन खरीदको स्रोत
• राजस्व छुट/सञ्चालन अनुमति लिएको नलिएको
• हालसम्म खरिद वा अन्य कुनै संस्थाबाट अनुदान प्राप्त एम्बुलेन्स/ शववाहनको संख्या
• चालकको नाम र सम्पर्क नम्बर
• एम्बुलेन्स/शववाहनको ब्लुबुकको छाँयाप्रति




