काठमाडौं। नेपाल चिकित्सक संघले देशभर चिसो बढ्नेक्रममा रहेको भन्दै मानिसहरूमा स्वाशप्रश्वासको समस्या देखा पर्ने हुँदा सतर्क रहन अपिल गरेको छ।
सोमबार संघले सार्वजनिक अपिल जारी गर्दै नेपालका विभिन्न स्थानमा इन्फ्लुएन्जा (Influenza) भाइरसको संक्रमण देखापरिरहेको भन्दै जनस्वास्थ्य सुरक्षाका लागि सतर्क रहन भनेको हो।
संघका महासचिव डा. संजीव तिवारीद्वारा हस्ताक्षरित अपिलमा, `रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिइ समयमा नै रोकथाम गर्न उपयुक्त हुने क्य्रामा नेपाल चिकित्सक संघ विश्वास राख्दछ।´ भनिएको छ।
संघले इन्फ्लुएन्जाका कारण बढी जोखिममा रहने बालबालिका, जेष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरलको संक्रमणले असर पुर्याउने प्रवल सम्भावना रहेको हुँदा यसको रोकथामका लागि जोखिममा रहेकाहरूले समयमा नै भ्याक्सिन लगाउन भनेको छ।
संघले जोखिममा रहेका जनसंख्यालाई हरेक वर्ष समयमा नै भ्याक्सिनको दायरामा ल्याएर नि:शुल्क रुपमा भ्याक्सिन उपलब्ध गराउन संघले सरकारसँग माग पनि गरेको छ।




