काठमाडौं। पछिल्ला तीन आर्थिक वर्षको विवरण अनुसार डेंगी संक्रमण र कालाजारका केसहरूमा देशभर विभिन्न उतार–चढाव देखिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल हेल्थ फ्याक्ट सीट २०२५ को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३३८ डेंगीका केस भेटिएको भए पनि २०८०/८१ मा यो संख्या घटेर ४८ हजार ८८३ मा झरेको छ। तर आर्थिक वर्ष २०८१/८२ मा डेंगी केस फेरि बढेर ५४ हजार ३५० पुगेको छ।
प्रदेशगत विवरण हेर्दा डेंगी संक्रमण आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी बागमती प्रदेशमा २३ हजार ९६९ जना संक्रमित भएकाले बागमती उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको छ। त्यसपछि गण्डकीमा ११ हजार ८६, कोशीमा ६ हजार ८६३, लुम्बिनीमा ५ हजार १६, मधेसमा २ हजार ८४५, कर्णालीमा २ हजार ७०५ तथा सुदूरपश्चिममा १ हजार ८६६ केस रहेका छन्।
उता, कालाजारका नयाँ केसहरूमा भने पछिल्ला तीन वर्षमा क्रमिक वृद्धि देखिएको छ। २०७९/८० मा १९९ नयाँ केस भेटिएको थियो भने २०८०/८१ मा २२५ पुगेको र २०८१/८२ मा २२७ पुगेको छ।
प्रदेशगत रूपमा हेर्दा आर्थिक वर्ष २०८१/८२ मा कर्णालीमा ४८ नयाँ केस भेटिएर सर्वाधिक प्रभावित प्रदेश बनेको छ। त्यस्तै लुम्बिनीमा ४४, सुदूरपश्चिममा ३१, बागमतीमा ३८, कोशीमा ३६, मधेसमा २४ र गण्डकीमा ६ वटा कालाजारका नयाँ केस दर्ता भएका छन्।
स्वास्थ्य अधिकारीहरूले मौसमी रोगको जोखिम अझै उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। डेंगी र कालाजार दुवैलाई नियन्त्रण गर्न जनसहभागिता, सरसफाइ, पानीको स्रोत व्यवस्थापन तथा समयमै उपचारको पहुँच अत्यावश्यक रहेको बताइएको छ।





