काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या तथा भ्रष्टाचारको गुनासो सुनिने गरेको क्षेत्र औषधीको व्यवस्थापन, आपूर्ती र बीमा भएको भन्दै यी तीनै कुरा आफ्नो प्राथमिकतामा रहेको बताईन्।
‘वर्तमान सरकार जेनजीको भावना अनुरुप बनेको छ, सरकारमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौं, प्रणालीको सुदृढिकरण सरकारको प्राथमिकता हो, स्वास्थ्य मन्त्रालय अन्तर्गत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्ती र बीमा हो। यी तीनै क्षेत्रलाई मैले आफ्नो प्राथमिकतामा राखेको छु।’
मन्त्री डा. गौतमले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न आफू लागि रहेको पनि बताईन।
यसैगरी बीमाको सन्दर्भमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गर्नुपर्ने भन्दै अहिले अध्ययन गरिरहेको पनि उनले जानकारी दिइन् ।



