मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्यमन्त्रीको सन्देश : मौन महामारी बन्दै छ एएमआर

स्वास्थ्यमन्त्रीको सन्देश : मौन महामारी बन्दै छ एएमआर

`सही मात्रा सही अवधिमा प्रयोग गरौं´

images
२०८२ मंसिर २ गते, मंगलवार
२०८२ मंसिर २ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले नेपालीहरुले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR), प्रतिजैविक प्रतिरोधको मौन महामारीको सामना गरिरहेको बताएकी छन्।

    images

    विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५ का अवसरमा एक भिडियो सन्देशमार्फत मन्त्री डा. गौतमले औषधिले काम नै नगर्ने अवस्था आउनु स्वास्थ्य प्रणालीको ठूलो चुनौती भएकोसमेत बताइन्। 

    images

    `यो केवल सूक्ष्मजीवले औषधि प्रति प्रतिरोध विकास गर्ने समस्या मात्र होइन, हाम्रो आचरण र अभ्यासको पनि प्रतिबिम्ब हो। अब समय आएको छ अस्पताल स्तरमा एन्टिबायोटिक लगायत एन्टिमाइक्रोबियल औषधिहरुको समुचित प्रयोगको सुनिश्चित गर्न एन्टिमाइक्रोबियल स्टिवार्डशिपलाई हाम्रो दैनिक कार्यशैलीमा समावेश गर्ने।´  मन्त्री डा. गौतमले भिडियो सन्देशमार्फत भनेकी छन्।

    उनले औषधिको विवेकपूर्ण प्रयोग गर्नु पर्ने तथा सही मात्रा औषधि सही अवधिमा सेवन गरिनु पर्नेसमेत सन्देशमा भनेकी छन्।

    `औषधिको विवेकपूर्ण प्रयोग, सही मात्रा, सही अवधि, यही हो हाम्रो स्वास्थ्य उपचार, औषधिको प्राभावकारिता वर्तमान तथा भविष्यमा समेत सुरक्षित गर्ने उपाय।´ उनले अघि भनेकी छन्, `सरकारको तर्फबाट म प्रतिबद्ध छु, हामी सबै अस्पतालमा यो अभियानलाई सुदृढ बनाउँछौं। तर सफलताका लागि स्वास्थ्यमा कार्यरत हामी सबैको सहभागिता अनिवार्य छ। आउनुहोस्, हामी सबै मिलेर यस्तो स्वास्थ्य प्रणाली बनाऔं जहाँ औषधि अझै काम गर्छ, आजका लागि पनि, भोलिका पुस्ताका लागि पनि।´

    यसैगरी स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि प्रतिजैविक प्रतिरोध, एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आईरहेको भनेका छन्।

    भिडियो सन्देशमार्फत नै उनले यसलाई समयमै सम्बोधन गर्न सकेन भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार तथा क्षति व्यहोर्नु पर्ने हुनसक्ने भनेका छन्।

    `यो चुनौतिको सामना गर्ने बिकल्प हो एन्टिमाइक्रोबियल स्टिवार्डशिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, यसको निम्ति नीति, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्न प्रतिबद्ध छौ।´ उनले सन्देशमा भनेका छन्।

    सचिव देवकोटाले मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा औषधि प्रयोगको निगरानी, डेटा/तथ्यांक अभिलेख, र चिकित्सकहरूको क्षमता विकासलाई प्राथमिकता दिएको पनि भनेका छन्।

    `एन्टिमाइक्रोबियल स्टिवर्डशिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा हो जसमा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता अत्यावश्यक छ। प्रतिजैविक प्रतिरोध, एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR)  नियन्त्रण हाम्रो साझा जिम्मेवारी हो। आउनुहोस्, नीति र व्यवहारबीचको पुल हामी सबै मिलेर बनाऔं, र देशभरि विवेकपूर्ण औषधि प्रयोगको संस्कृति स्थापित गरौं।´ सचिव डा. देवकोटाले भिडियो सन्देशमा भनेका छन्।

    विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५ `प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ।´ भन्ने नारासहित सप्ताहब्यापी रुपमा मनाइँदै छ।

    नोभेम्बर १८ देखि २४ (२०८२ मंसिर २ देखि ८ गते) सम्म एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विरुद्ध सप्ताहब्यापी कार्यक्रम गरिंदैछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एएमआर विरुद्ध आवाज उठाउँदै आम नागरिक तथा सरोकारवालालाई सचेत र जिम्मेवार बनाउन विश्वव्यापी रुपमा सप्ताह मनाउन लागिएको बताएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend