काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको आगामी पाँच वर्षको कार्यदिशा र प्राथमिकता तय गर्न छलफल सुरु भएको छ।
आगामी पाँच वर्षको कार्यदिशा र प्राथमिकता तय गर्ने उद्देश्यसहित नवौँ रणनीतिक योजनाको मस्यौदा तयार गर्न आइतबारदेखि राष्ट्रिय तालिम केन्द्र, बनेपामा तीनदिने कार्यशाला सञ्चालन भइरहेको छ।
नेपाल रेडक्रस सोसाइटीले बदलिँदो मानवीय आवश्यकता, विपद् जोखिम, प्रविधि र संस्थागत संरचनामा आएको परिवर्तनलाई ध्यानमा राख्दै हरेक पाँच वर्षमा रणनीतिक योजना अद्यावधिक गर्दै आएको छ। यसपटकको नवौँ रणनीतिक योजना २०२६ देखि २०३० सम्म लागु हुनेछ।
कार्यशालामा संस्थाले पछिल्ला वर्षहरूमा भोग्दै आएको चुनौतीहरू, आगामी वर्षमा ध्यान दिनुपर्ने मुख्य क्षेत्रहरू, समुदायको आवश्यकता तथा संस्थागत सुधारका सम्भावनाआदिबारे विस्तृत छलफल भइरहेको रेडक्रसले जनाएको छ।
यसैगरी सेवा विस्तार, स्वयंसेवक व्यवस्थापन, दुरदराजका क्षेत्रमा पहुँच वृद्धि, विपद् पूर्व तयारी तथा प्रतिकार्य प्रणाली सुदृढीकरण र प्रविधिको प्रभावकारी प्रयोग जस्ता विषयवस्तुहरू कार्यशालाका मुख्य एजेन्डा रहेका छन्।
कार्यशालाबाट प्राप्त सुझाव र विश्लेषणका आधारमा रणनीतिक योजनाको प्रारम्भिक मस्यौदा तयार गरिने बताइएको छ। यस रणनीतिक योजनाले संस्थालाई अझ चुस्त, प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको रेडक्रसले जनाएको छ।
कार्यशालामा निमित्त कार्यकारी निर्देशक, निर्देशकहरू, विभागीय प्रमुखहरू तथा उप–निर्देशकहरूलगायत विभिन्न विभागका पिएमईआर ,आइएम, सिईए प्रतिनिधिहरू गरी २४ जनाको सहभागिता छ।



