काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले कान्ति बाल अस्पतालको अनुगमन तथा निरिक्षण गरेकी छन्।
मन्त्री डा. गौतम आइतबार मन्त्रालयका सचिव डा. विकास देवकोटासहितलाई लिएर अस्पतालको निरिक्षणमा पुगेकी हुन्।
सो क्रममा मन्त्री डा. गौतमले अस्पतालबाट आम नागरिकलाई सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नगरी स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिइन्।
यसैगरी मन्त्री डा. गौतमले सार्वजनिक विदा तथा अस्पताल समय भन्दा अन्य समयमा समेत आकस्मिक ल्याव तथा रेडियोलोजिका सेवाहरु सुचारु गर्न समेत अस्पताल नेतृत्वलाई निर्देशन दिइन्।
उनले आम नागरिकका कुनै पनि गुनासा नआउने गरी सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सो क्रममा अस्पतालका निर्देशक डा. पंकज रायले आवश्यक जनशक्तिको अभावका कारण अस्पतालले सेवा प्रवाहमा समस्या भोग्दै आइरहेको हुँदा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।
मन्त्री डा. गौतमले भने मन्त्रालयले अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने चिकित्सक/स्वास्थ्यकर्मी, लजिस्टिकसहितका अन्य स्रोतसाधनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।



