भरतपुर। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले उपचारमा नयाँ प्रविधि भित्राउँदै रोबोटिक सर्जरी सेवा सुरु गरेको छ।
सिएमसीले काठमाडौं बाहिर नेपालमा नै दोस्रो रोबोटिक सर्जरी सेवा मार्फत सेवाको सुरुवात गरेको हो। यो प्रविधिमार्फत सिएमसीले १४ वटा रोबोटिक सर्जरी गरिसकेको बताएको छ।
रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा विशाल आचार्य र डा रोहितकुमार मिश्रको नेतृत्वमा सिएमसीले रोबोटिक सर्जरी गरिरहेको छ। यो प्रविधिबाट गरिने सर्जरी अत्याधुनिक तथा सहज हुने चिकित्सक बताउँछन्।
रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार यो प्रविधिबाट गरिने सर्जरी चिरेर गरिने र दुरविन प्रविधिबाट गरिने सर्जरी भन्दा आधुनिक र सटिक हुने गर्दछ।
“रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो, चिरेर र दुरबिनबाट भन्दा सहज र छिटो यो प्रविधिबाट सर्जरी हुन्छ।” उनले भने।
डा. गुरुङका अनुसार रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गर्ने गर्दछ।
यो प्रविधि मार्फत सर्जरी गर्दा चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूका माध्यमबाट सर्जरी गर्ने गर्दछन।
यो प्रविधिले परम्परागत प्रविधिको तुलनामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा गुरुङको भनाइ छ।
न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको डा. गुरुङले बताए।
रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने बताउँदै उनले यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्म शल्यक्रिया गर्न सक्ने बताए। जसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्ने र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुने उनको भनाइ छ।
सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उनी बताउँछन्। अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने डा. गुरुङको भनाइ छ।
रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने भन्दै उनले यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने बताए।
उनले अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुने तथा शल्यक्रिया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा पुग्ने डा. गुरुङको भनाइ छ.
मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सिएमसीले ल्याएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको बताए। उनका अनुसार कुल ३२ करोड लागतमा यो प्रविधि भित्र्याइएको हो।



