काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई अहिले सबैभन्दा बढी टाउको दुखाइको विषय स्वास्थ्य बीमाको बक्यौता रकम बनेको छ।
हरेक दिनजसो अस्पतालका निर्देशकहरु मन्त्रालयमा आएर स्वास्थ्य बीमाको रकम बक्यौता धेरै हुँदा काम गर्न असहज भएको र बीमा चलाउन नसकिने भन्न थालेपछि मन्त्री दबाबमा परेकी छिन्। उनले सबै जसो अस्पतालका निर्देशकलाई आफुले यसै साता केही न केही निर्णय दिने बताउँदै सम्झाइ बुझाइ गर्दै पठाउँदै आइरहेकी छिन।
मन्त्री डा. गौतमले स्वास्थ्य बीमा बोर्डसँग पनि मन्त्री भएकै दिनदेखि बीमाको बक्यौता रकम बारे चासो राख्दै आइरहेकी छिन्। सो बारे बोर्डले पैसा नहुँदा समस्या भएको जवाफ दिंदै आएको थियो भने बुधबार बोर्डले मन्त्रालयमा पत्र पठाउँदै असोज सम्मको बक्यौता भुक्तान लिखित रुपमा नै रकम मागेको छ। बोर्डले तत्कालका लागि ७ अर्व २५ करोड ८३ लाख रुपैयाँ आवश्यक रहेको जानकारी गराउँदै मन्त्रालयमा पत्र पठाएको हो।
`बीमाको बक्यौताले हामीलाई गाह्रो पर्यो, पुरानो रकम आउने भन्दा झनझन थपिनेक्रम जारी छ, सेवा दिने तर रकम नआउने हुँदा समस्या भयो, मन्त्रीज्युलाई भेटेर भनिसक्यौं, बक्यौता नआए अब गाह्रो छ।´ एक संघीय अस्पतालका निर्देशकले एक्सरे नेपालसँग भने।
उनका अनुसार बीमा वापतको रकम बक्यौता हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरुको तलव भत्ता, उपचारका लागि खरीद गरिएका औषधी तथा उपकरणको भुक्तानी दिन असहज हुँदै आइरहेको छ।
हामीलाई प्राप्त जानकारी अनुसार टिचिङको ६० करोड बढी रकम बक्यौता छ। यसैगरी शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालको लगभग साँढे तीन करोड, वीर अस्पतालको ५० करोड भन्दा बढी रकम बक्यौता छ भने भरतपुर अस्पतालको १ अर्ब बक्यौता पुगेसकेको छ। यस्तै अन्य अस्पतालहरुको बक्यौता रकम पनि ठूलो छ।
बक्यौताकै कारण बीमाको सेवा प्रभावित हुने अवस्था आउन सक्ने भएपछि स्वास्थ्य मन्त्री गौतमले पहिले बीमाको रकम जसरी पनि निकासा गरिदिन अर्थमन्त्री रामेश्वर खनालसँग पनि आग्रह गरेकी छिन।
उनले बक्यौता सोधभर्नाका लागि अर्थ मन्त्रालयसंग थप ७ अर्व २५ करोड ८३ लाख रुपैयाँ माग गरेकी हुन्। त्यसका लागि स्वास्थ्य मन्त्रालयले बिहीबार नै अर्थमा पत्र पठाएको छ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले असोज मसान्तसम्म बक्यौता भुक्तान गर्न रकम अभाव भएकाले थप रकम माग गरिएको बताए।
‘बोर्डसँग आवश्यक रकम नहुँदा बक्यौता भएको हो, बोर्डका तर्फबाट असोजसम्मको सबै बक्यौता भुक्तानी गर्ने गरेर ७ अर्व २५ करोड ८३ लाख रुपैयाँ माग गरेर पत्र पठाएका हौं।´ बोर्डका कार्यकारी निर्देशक काफ्लेले भने।
सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्व रकम बिनियोजन गरेको थियो। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले त्यसका लागि पहल गरेका थिए भने सो रकम बक्यौता बापत भुक्तान भइसकेको बोर्डले बताएको छ। अहिले बोर्डसँग ३ अर्ब बचत रहेको बताइन्छ।



