बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

४३ जिल्लामा `मोन्था´ को प्रभाव, कहाँकहाँ देखिंदैछ असर?

४३ जिल्लामा `मोन्था´ को प्रभाव, कहाँकहाँ देखिंदैछ असर?

images
२०८२ कार्तिक १३ गते, बिहिवार
२०८२ कार्तिक १३ गते, बिहिवार
  • काठमाडौं। बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को प्रभाव नेपालमा बिहीबार विहानैबाट देखिएको छ।

    images

    `मोन्था´ को प्रभावका कारण नेपालका ४३ जिल्लामा असर देखिने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरिसकेको छ। 

    images

    विभागका वरिष्ठ मौसमविद बरुण पौडेल `मोन्था´ भारतको आन्द्र प्रदेशको तटीय क्षेत्र हुँदै नेपालमा प्रवेश गरेको र आगामी शनिबारसम्म यसको प्रभाव नेपालमा रहने बताउँछन्।

    उनका अनुसार देशका केही स्थानमा आज बिहीबार र भोलि शुक्रबार भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। बिहीबार धेरैजसो स्थानमा वर्षा भएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि भएको छ। वरिष्ठ मौसमविद पौडेलले भारी वर्षा र हिमपात हुने भन्दै नागरिकलाई सचेत रहन पनि आग्रह गरेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि ४३ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र १० जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ।

    प्राधिकरणले बिहीबार बिहानदेखि भोलि बिहानसम्म कोसी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको हो।

    कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

    प्राधिकरणले कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगाका स्थानीयलाई सतर्क रहन भनेको हो। 

    यसैगरी मधेस प्रदेशका सबै जिल्ला अर्थात सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही, वागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवामा सतर्कता अपनाउन भनिएको छ।

    यस्तै गण्डकीमा गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङमा सतर्कता अपनाउन प्राधिकरणको आग्रह छ।

    प्राधिकरणले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा मौसम सम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न आग्रह गरेको छ।

    प्राधिकरणले सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिन र अरुलाई पनि जानकारी दिन तथा आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान प्राधिकरणले भनेको छ। 

    प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्नुपर्ने र जोखिम देखिए सुरक्षित स्थानमा सर्नुपर्ने, धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्त्राउन प्राधिकरणले कृषक वर्गमा पनि आग्रह गरेको छ।

    प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिलाई प्राधिकरणले आवश्यकता अनुसार सवारी आवागमनबारे निर्णय लिन भनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend