काठमाडौँ। नेपाल औषधि आयातकर्ता संघ (मीयान) ले विदेशबाट नेपालमा आयातित औषधिको मूल्य नबढेको स्पष्ट पारेको छ।
केही दिन यता विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरुमा नेपालमा आयात गरिने औषधिहरुमा औषधि ब्यवस्था विभागले जथाभावी मुल्यबृद्धि गरिरहेको भन्ने भ्रमपुर्ण समाचारहरु प्रकाशित भइरहेको भन्दै संघले आफ्नो ६ बुँदे धारणासहित गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष पवन आचार्यद्वारा बुधबार जारी विज्ञप्तिमा संघले समाचारमा आए जस्तो औषधी व्यवस्था विभागले जथाभावी रुपमा मूल्य बृद्धि नगरेको दावी गरेको हो।
‘नेपालमा करिब ३५० विदेशी औषधी उद्योगका औषधीहरु करिब १२५ आयातकर्ताहरुले आयात गरि विक्री वितरण गर्दै आइरहेको, औषधी आयातको लागि विभागले तोकेको कागजात, डब्लूएचओ-जीएमपी प्रमाणीकरण, स्थलगत निरीक्षण र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र औषधी दर्ता हुने व्यवस्था रहेको´ जारी विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तिमा औषधी दर्ता कार्यबिधि–२०७३ मा तोकिएका प्राविधिक कागजात तथा औषधिको नमूना र औषधी दर्ता नियमावली–२०३८ अनुसार दर्ता हुने प्रत्येक औषधीको अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख गरेपछि मात्र विभागले औषधि दर्ता गर्ने गरेको उल्लेख छ।
यसैगरी औषधि दर्ता कार्यविधि २०७३ र नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) को २०७३ असार ३० गतेको निर्णय अनुसार आयातित औषधीहरु उत्पादकले उत्पादन हुने आफ्नो देशको सम्बन्धित निकायबाट अनुमति लिएको अधिकतम खुद्रा मूल्यभन्दा अधिक नहुने गरि बिक्री वितरण गर्नु पर्ने सूचना बमोजिमनै औषधि विक्री वितरण गर्ने गरिएको संघले जनाएको छ।
यस्तै औषधी ऐन २०३५ को दफा २६ अनुसार नेपाल सरकारले ११७ प्रकारका औषधीहरुमा अधिकतम खुद्रा मूल्य निर्धारण गरेको सोही अनुसार दर्ता, आयात तथा विक्री वितरण गरिएको र ती ११७ प्रकारका औषधिको मूल्य विगत दुई दशकदेखि समायोजन नभएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ।
संघले औषधीको उत्पादनमा कच्चा पदार्थ, सहायक कच्चापदार्थ, प्याकिंग सामग्री, ढुवानी, मुद्रास्फ्रिती आदिका कारण समयअनुसार मुल्य घट्ने बढ्ने भएकाले सोको कारण औषधिको नमुना र सम्बन्धित देशको अधिकतम खुद्रा मूल्य भन्दा अधिक नभएको उत्पादकको पत्रसहित पेश गर्ने गरिएको र विभागले सो बारे जाँचबुझ गरेर मात्रै स्वीकृति दिने गरेको स्पष्ट पारेको छ।
उल्लेखित तथ्य तथा विभागले गर्ने औषधि उद्योग निरीक्षण, सूचीकरण, औषधि दर्ता, नवीकरण तथा मुल्य समायोजन सम्बन्धि प्रक्रिया बुझ्दै नबुझी जथाभावी समाचार सम्प्रेषण हुँदा जनमानसमा गलत सूचना प्रवाह हुने र त्यसले समाजमा औषधि क्षेत्रमा काम गर्ने नियामक निकाय, सिफारिसकर्ता र ब्यवसायीहरुमा गलत धारणा उत्पन्न हुने संघले भनेको छ।
संघले सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई औषधी नियामक निकाय, उत्पादक, आयातकर्ता तथा वितरणमा प्रत्यक्ष संलग्न ब्यक्तिहरुसँग यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ।





