बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बिरामी मन्त्रालयमा अब डा. मन्त्री!

बिरामी मन्त्रालयमा अब डा. मन्त्री!

लेखेकी थिइन् -`आँट गर्नु पर्छ, सकिन्छ´

images
एक्सरे नेपाल
२०८२ कार्तिक १० गते, सोमवार
एक्सरे नेपाल
२०८२ कार्तिक १० गते, सोमवार
  • काठमाडौं। गत भदौं २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा विध्वंस भोगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले कोमामा छ। मन्त्रालय भवन आगोका कारण जलेर कामै नलाग्ने भएपछि छिमेकीको शरणमा छ। अहिले स्वास्थ्य अनुसन्धान परिषद्को भवनका केही कोठाबाट मन्त्रालय चलिरहेको छ। 

    images

    आफू खरानी भएर्थला परेको डेढ महिनापछि स्वास्थ्य मन्त्रालयले अभिभावक पाएको छ। आइतबार मन्त्रालयको नेतृत्वमा डा. सुधा गौतम आएकी छिन्। पहिले आफैँ सचिव रहेको मन्त्रालयमा अहिले मन्त्री बनेर उनी बिरामी मन्त्रालयको उपचारमा छिरेकी छिन्। 

    images

    उनको जिम्मेवारी अब मन्त्रालयको नियमित कामसँगै, स्वास्थ्य क्षेत्र सुधार र मन्त्रालयको नयाँ संरचनाको निर्माण तर्फ केन्द्रित हुनु छ। यतिमात्र होइन जेन-जी युवाले उठाएको सुशासन र भ्रष्टाचारको अन्त्यको एजेण्डामा पनि उनको काँधलाई भारी छ।

    स्वास्थ्य मन्त्रालय यस्तो संवेदनशील मन्त्रालय हो, जहाँ जनस्वास्थ्यसँगै खरीदका विषय पनि उठ्छन। खरीदसँगै जोडिएर मन्त्रीहरु थप काण्डमा मुछिन्छन। र लफडामा परिरहन्छन। हरेकजसो मन्त्रीलाई पदभार ग्रहण गरेकै दिन खरीदको विषयले घेर्छ। उनीहरू जवाफ `पहिले जस्तो नहुने´ भन्दै जवाफ फर्काउँछ्न।

    नवनियुक्त स्वास्थ्य मन्त्री डा. गौतमले पनि पदभार सम्हाले लगत्तै मातहतका कर्मचारीलाई निर्देशन दिंदै भनिन्, `मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउनु,  कहिबाट पनि कुनैपनि लेबलमा भ्रष्टाचार भएको सुन्न नपरोस्, आर्थिक र प्रशासनिक पारदर्शिता अपनाउनु।´

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री डा. गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहनुभएकी डा. गौतम जनस्वास्थ्यविद् समेत हुन्। उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी छिन्। स्वास्थ्यमा उनी अब्बल मानिन्छन्।

    काठमाडौंमा जन्मेकी उनी बुबा लक्ष्मीनाथ गौतम र आमा सुभद्राका ११ सन्तानमध्ये कान्छी हुन्। उनका बुबा गृहसचिव थिए। पछि उनी राष्ट्र बैंकका गभर्नर समेत बने। अहिले उनी ७० वर्षकी छिन्।

    नवनियुक्त मन्त्री डा. गौतमले क्षेत्रपाटीको कन्या मन्दिरमा अध्ययन गरिन। त्यहीबाट उनले २०२८ सालमा एसएलसी दिइन्। त्यसपछि उनले अमृत साइन्स कलेजबाट आइएससी गरिन। आइएससी सकाएर उनी थप अध्ययन गर्न भारत लागिन। उनले राँचीको राजेन्द्र मेडिकल कलेजमा थप अध्ययन गरिन।

    त्यहाबाट फर्केर उनले थापाथलीस्थित प्रसूति गृहमा काम गरिन्। २०३९ सालमा उनको भरतपुर अस्पताल, चितवनबाट सरकारी नियुक्ति लिएर सेवा सुरु गरेकी थिइन्।

    २०४४ सालमा उनले 'आइओएम' बाट प्रसूति एवं स्त्री रोग (डिप्लोमा इन अबसेट्रिक्स एन्ड गाइनोकोलोजी–डिजिओ) को पढाइ सकाइन। त्यसपछि थप अध्ययन बेलायतको रोयल कलेजमा भयो। त्यहाबाट फर्केर पुन: थापाथलीस्थित प्रसूति गृहमा मेडिकल अधिकृतबाट सेवा सुरु गरिन।

    उनले मन्त्रालयको सचिव रहँदा राजनीतिक नेतृत्वसँग द्वन्द्व चलेपछि कार्यकाल पूरा नगरी पदबाट राजीनामा दिएकी थिइन्। २०६५ मा उनी कामु सचिव बनिन्। २०६६ मा नयाँ सरकार गठन भएपछि उनी स्वास्थ्य मन्त्रालयको सचिव बनिन्। २०६८ पुसमा उनले सचिवको जिम्मेवारीबाट राजीनामा दिइन्।

    डा. गौतम चिकित्सकहरूको साझा सङ्गठन नेपाल चिकित्सक सङ्घको अध्यक्ष हुने एक मात्रै महिला हुन्। उनी २०६२/०६३ सालमा चिकित्सक संघको अध्यक्ष बनेकी थिइन्।

    यसैगरी उनले संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरिसकेकी छिन्। यस्तै उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

    आइतबार मन्त्री नियुक्त उनले सेप्टेम्बर २० का दिनमा जेन-जी आन्दोलनमा स्वास्थ्य मन्त्रालयमा आगजनी भएर मन्त्रालय खरानी भएको सन्दर्भमा सामाजिक संजाल फेसबुकमा लेखेकी थिइन्, `हामी सम्पूर्ण स्वास्थ्यकर्मीको कर्मथलो, आफनो घर जस्तै मायालु संस्था  खरानी भएको छ। यसलाई पुरानै स्वरुपमा उठाएर जनभावना एवं जनस्वास्थ्य प्रति सम्बेदनशील, अझ प्रभावकारी संस्था बनाउन हामी सबै स्वास्थ्यकर्मीले एकजुट भई संकल्प गरौं। आँट गर्नु पर्छ, सकिन्छ।´

     

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend