बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जथाभावी एन्टिबायोटिकको प्रयोग, `एएमआर´ नामक मौन महामारीले जरो गाड्दै

जथाभावी एन्टिबायोटिकको प्रयोग, `एएमआर´ नामक मौन महामारीले जरो गाड्दै

images
२०८२ कार्तिक ८ गते, शनिवार
२०८२ कार्तिक ८ गते, शनिवार
  • विराटनगर। जथाभावी एन्टिबायोटिकको प्रयोग हुँदा मानिसमा 'एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)' को समस्या बढ्दै शरीरमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। 

    images

    चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन्। 

    images

    चिकित्सकको सिफारिस बिना नै आफूखुसी र अपूरो एन्टिबायोटिक औषधि सेवन गर्दा 'एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)' नामक मौन महामारीले देशभर जरो गाड्दै गएको उनीहरूको चिन्ता छ।

    विराटनगरकी सरिता कार्कीले छोरालाई सामान्य खोकी र ज्वरो आउँदा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिकले पहिलोपटक निको पारे पनि दोस्रोपटक काम नगरेपछि उनी झसङ्ग भइन्। 

    सरिता मात्र होइन मोरङका ५५ वर्षीय रामबहादुर राईले पनि दाँत दुख्दा जथाभाबी एन्टिबायोटिक किन्ने बानीले गर्दा पछिल्लो समय औषधिले काम गर्न छाडेको बताए। यी उदाहरणहरूले मानिसहरू 'छिटो निको हुने' सोचले आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढेको देखाउँछ।

    कमजोर बन्दै साधारण औषधि

    कोशी अस्पतालका बालरोग विभाग प्रमुख डा रामनारायण चौधरी पछिल्ला वर्षमा सामान्य सङ्क्रमणका लागि प्रयोग हुने औषधिले काम गर्न छोडेका बिरामी बढेको बताउँछन्। उनी भन्छन्, "एन्टिबायोटिकको दुरूपयोगले ब्याक्टेरिया झन् बलियो बन्छ। यो अत्यन्तै खतरनाक सङ्केत हो।"

    नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा डा रामहरि घिमिरेले एन्टिबायोटिकको जथाभाबी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताए। 

    उनका अनुसार, चिकित्सकले सिफारिस गरेको पूरा डोज नखाने, औषधि पसलेले सही मात्रा मिलाउन नसक्ने र कतिपय चिकित्सकले कीटाणु जाँच नगरी औषधि दिने गर्दा एएमआरको समस्या बढेको हो।

    डा घिमिरेले सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र रोग निको नहुने हुँदा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने सुझाव दिए।

    समाधानको उपाय के त?

    विराटनगरका औषधि व्यवसायीहरू पनि यो प्रवृत्तिबारे चिन्तित छन्। नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले उपभोक्ता स्वयं सचेत नभएसम्म यो समस्या समाधान गर्न नसकिने बताए।

    उनका अनुसार, उपभोक्ताले चिकित्सकको सल्लाह बिना नै औषधि माग गर्ने र कहिलेकाहीँ दबाबका कारण बिना 'प्रेस्क्रिप्सन' एन्टिबायोटिक बिक्री हुने समस्या छ। सङ्घले यस्तो अभ्यास रोक्न अभिमुखीकरण तालिम र अनुगमन गरिरहेको उनले जानकारी दिए।

    विज्ञहरूले एन्टिबायोटिकको गलत प्रयोग रोक्न जनचेतना नै सबैभन्दा शक्तिशाली उपाय भएको बताएका छन्। चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र नियामक निकाय सबैले इमान्दारीपूर्वक आफ्नो भूमिका निभाए मात्र यो समस्या समाधान गर्न सकिनेमा उनीहरूको जोड छ।

    मानिसमा मात्र होइन पशुपालनको क्षेत्रमा पनि दुरुपयोग

    एन्टिबायोटिकको गलत प्रयोग केवल मानिसमा मात्र सीमित छैन। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार शाह प्रदेशका धेरैजसो पोल्ट्री फार्ममा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग हुने गरेको बताउँछन्। 

    पशुमा प्रयोग भएका औषधिको अवशेष दूध, मासु र अण्डामार्फत मानिसको शरीरमा पुग्दा पनि दीर्घकालीन रूपमा प्रतिरोध विकास हुने डा. शाहको भनाइ छ। उनले एएमआर नियन्त्रणका लागि 'वन हेल्थ' दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएका छन्।

    विश्वभरि बढ्दै एएमआरको खतरा

    भाइरोलोजी विशेषज्ञ डा. सन्तोष दुलालका अनुसार, विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख विश्वव्यापी जनस्वास्थ्य खतरामध्ये एक मानेको छ। एन्टिबायोटिकले काम नगर्ने हुँदा सन् २०३० सम्ममा थप २ करोड ४० लाख मानिस चरम गरिबीमा धकेलिने र सन् २०५० सम्ममा एएमआरका कारण वार्षिक १ करोड मानिसको मृत्यु हुने अनुमान छ। यो महामारीको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend