बिरगंज। पर्सा जिल्लामा असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन गरिएको हैजा विरुद्धको खोप अभियानमा १४ वटै स्थानीय तहका ५ लाख ४७ हजार ३११ जनाले खोप खाएका छन्।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय पर्सा मार्फत असोज २६ देखि कात्तिक २ गतेसम्म पर्सामा खोप खुवाउन अभियान नै चलाएको थियो। यो अभियान पर्सा जिल्लाका १४ वटै पालिकामा संचालन गरिएको थियो।
स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा १ वर्षमाथिका कुल ६ लाख ५२ हजार १२९ जना मध्ये ८४ प्रतिशतले खोप सेवन गरेका छन्।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले १ वर्षमाथिका कुल ६ लाख ५२ हजार १२९ जना मध्ये ८४ प्रतिशत अर्थात ५ लाख ४७ हजार ३११ जनाले खोप खाएको जानकारी दिएका हुन्। पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आफैंले खोप खाएर अभियानको शुभारम्भ गरेका थिए।
गत भदौ ६ गते बिरगंजमा तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएयता हालसम्म २४५ जनामा सङ्क्रमण देखिएको छ। अझैसम्म पनि बिरगंजका अस्पतालमा हैजाका शङ्कास्पद बिरामी उपचारका लागि आउने गरेका छन्। बिरगंजमा हैजा के कारणले फैलियो भन्ने अझै खुल्न सकेको छैन।
खोप अभियानमा हैजाबाट सबैभन्दा बढी प्रभावित बिरगंज महानगरपालिकाको कुल जनसङ्ख्या २ लाख ७५ हजार ६७३ मध्ये ८२ प्रतिशत अर्थात् २ लाख २६ हजार १६६ जनाले खोप खाएका छन्। अन्य पालिकाहरूमा पनि खोप वितरण प्रभावकारी रहेको स्वास्थ्य कार्यालय पर्साले दाबी गरेको छ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार, पर्साको पर्सागढी नगरपालिकामा ३४ हजार ८६१, बहुदरमाई नगरपालिकामा ३४ हजार ८३३ र पोखरिया नगरपालिकामा ३१ हजार ४८१ जनाले खोप प्राप्त गरे।
त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा ३१ हजार ३८०, जगरनाथपुर गाउँपालिकामा ३० हजार २३२, छिपहरमाई गाउँपालिकामा २६ हजार ९०४, विन्दवासिनी गाउँपालिकामा २२ हजार ४३३, पटेर्वा सुगौली गाउँपालिकामा २१ हजार ४५०, धोबिनी गाउँपालिकामा १९ हजार ५५, कालिकामाई गाउँपालिकामा १९ हजार ३०, पकहामैनपुर गाउँपालिकामा १७ हजार ९०२, जिराभवानी गाउँपालिकामा १७ हजार २९६ र ठोरी गाउँपालिकामा १४ हजार ३५० जनाले खोप सेवन गरेका छन्।
जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार अभियानमा खोप केन्द्रहरू स्थापना गर्नुका साथै घरदैलो कार्यक्रममार्फत खोप वितरण गरिएको थियो। तथापि, लक्ष्यको १६ प्रतिशत जनसङ्ख्या अझै खोपबाट वञ्चित छन्। छुटेका व्यक्तिहरूलाई समेट्न छठ पर्व लगत्तै दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको उनी बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सञ्चालित प्रयासले पर्सालाई हैजामुक्त बनाउने लक्ष्य राखेको छ। आगामी अभियानले बाँकी जनसङ्ख्यालाई समेटेर रोगविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।



