काठमाडौं। आयुर्वेदका प्रवर्तक धनवन्तरीको सम्झनामा देशभर धनवन्तरी जयन्ती मनाइएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनवन्तरी जयन्ती आइतबार पूजाआराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको हो।
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी मानिन्छन्। उनको उत्पत्ति भएको सम्झनामा धनवन्तरी जयन्ती मनाइँदै आइएको छ।
आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजाआराधना गरेका थिए। धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रूपमा समेत मानिन्छ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धनवन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा छ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्। काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो।
त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो।
आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ। आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो।
यसैबिच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइएको छ।
पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढिरहेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ।



