काठमाडौं। नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंका विभिन्न कारागारबाट भागेका १२२ जना फरार कैदीबन्दीलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका प्रहरी कार्यालबाट खटिएका प्रहरी टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका १२२ जना कैदीबन्दीलाई काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी छन्।
त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला छन्।
प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोधसमेत गरेको छ।



