काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने सवारीसाधनलाई तीन दिन पुर्णरुपमा रोक लगाएको छ।
प्राधिकरणले शनिबार विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको जानकारी दिएको हो।
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अहिले पूर्वमा कोशी प्रदेश, मधेस, बागमती, गण्डकी तथा पश्चिममा लुम्बिनी प्रदेशमा मध्यमदेखि अत्यधिक भारी वर्षा भइरहेको छ। यस्तै कर्णाली प्रदेशका केही जिल्लासमेत हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।
विभागले केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षासम्म हुनसक्ने भन्दै सचेत रहन आग्रह गर्दै आइरहेको छ। देशका कतिपय स्थानीय प्रशासनलेसमेत अवस्था हेरेर सवारीसाधन संचालनमा रोक लगाइरहेका छन्।
‘उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ।
यस्तो छ प्राधिकरणको विज्ञप्ति




