काठमाडौं। देशका विभिन्न भुभागमा अहिले पानी परिरहेको छ। कतै मध्यम त कतै अत्यधिक भारी भर्षाका कारण धेरैजसो स्थानमा जनजीवन प्रभावित बनेको छ।
शुक्रवार साँझ देखि परेको पानीका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खसेपछि अबरुद्ध बनेको छ। यस्तै देशका धेरैजसो मुख्य राजमार्गमा स्थानीय प्रशासनले भारी वर्षा हुने पुर्वानुमान रहेकाले रातको समयमा सवारीसाधन संचालनमा रोक लगाएका छन्।
स्थानीय प्रशासनले मुग्लिन–नारायणगढ सडक, मुग्लिन–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै रातिको समयमा यात्रा गर्न रोक लगाएको हो। असोज १७ गतेदेखि २० गतेसम्म पानी पर्ने पूर्वानुमान छ।
किन पर्दैछ अत्यधिक पानी?
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको विभागले जनाएको छ।
मौसमविदहरुले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
अहिले कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशका सबै स्थान तथा बागमती प्रदेशका जिल्लाहरूमा भारी वर्षा भइरहेको छ। यस्तै पश्चिममा कर्णाली प्रदेशासम्म वर्षा भइरहेको छ।
विभागका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च सतर्कता अपनाउन आग्रह
पानी पार्ने बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको छ। भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ। खासगरी हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ।
अविरल वर्षासँगै बाढी पहिरो र डुबानको खतरा रहेको भन्दै सरकारले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ भने सकेसम्म लामो दुरीको यात्रा नगर्न पनि आग्रह गरिएको छ।



