काठमाडौं। देशभर दशैंको रौनक रहँदा राजधानी नजिकको एउटा पुरानो नेवारी गाउँमा उतिसारो चहलपहल छैन। ललितपुरको खोकनाका स्थानीयलाई दशैको रौनकताले कहिलै छोप्दैन। यहाँका मानिसहरु आफ्नै जात्रा निकाल्न व्यस्त हुन्छन्। राम्रो लुगा, मिठो खाना अनि मान्यजनको टीका थापि आशिर्वाद लिएर मनाउने दशैंमा यहाँका बासिन्दा भने त्यो रमाइलोमा भुल्दैनन। उनीहरुको दशैं मनाउने प्रचलन बेग्लै छ।
खोकनाका स्थानीयहरु आश्विन शुक्ल प्रतिपदादेखि पुजा पाठमा व्यस्त रहन्छन्। पाहुना वा आफन्त बोलाउँछन् र मिठो खुवाउँछन्। सप्तमीको दिन रुद्रायणी देवीको ‘सिकाली’ जात्रा निस्कन्छ। खटमा रुद्रायणी देवीलाई राखेर जात्रा निकालिन्छ र जात्राले टोल परिक्रमा गर्दछ। जात्राको दिन टिका लगाइन्छ तर जमरा लगाइदैन। घरमा जमरा पनि राखिदैन। खोकनाबासीले काटमार गर्दैनन्। आफैले पालेका पशुपंक्षीलाई आफनै सन्तान सरह मान्ने कारण खोकनावासीले काटमार नगर्ने स्थानीय राजेन्द्र महर्जन बताउँछन्।
काट्मार र टिका जमरा बिना मनाईने उनीहरुको जात्राले दशैँलाई बिर्साउँछ। महर्जन भन्छन– ‘सबैलाई रमाइलो त हुन्छ नै दशैँ भन्दा जात्राले हाम्रो लागी छुट्टै महत्व बोक्दछ। परिवारमा भेटघाट र जमघट पनि यहि जात्राले गराउँछ।’
मल्लकालदेखि चलिआएको यस्तो चलनलाइ नयाँ पुराना पुस्ताले परम्पराको रुपमा स्वीकार गरिरहेका छन्। देवीका नाममा बली दिएर दशैँलाई हिंसात्मक रुपमा मनाउने चलनले विकृतिलाई बढवा दिएको अवस्थामा खोकनावासी भने काटमार र टिका जमरा बिना मौलिक ढङगले दशैँ मनाउँदै आएका छन्। यहाँका बासिन्दालाई दशैँ नमनाउने भएपनि खल्लो हुँदैन। दशैँको बेलामा जात्रा पर्ने र भेटघाट साथै जमघट अनि मिठो खाना सँगै जात्रा मनाईने हुँदा पनि दशैँलाई यसले बिर्साउँछ।
दशैंमा कौडा खेलको रमाइलो
वास्तवमा जुवा भन्नाले कौडालाई नै बुझाउँछ। आजभोली तासलाई पनि जुवामा नै गणना हुन्छ। नेपालको पुरानो खेल कौडा अब सिमित व्यक्तिहरुले मात्र खेल्न थालेका छन्। सम्पन्न वा खान्दानी परिवारका सदस्य तथा महाँजनलहरुले कौडा खेल्न रुचाउँछन्। १६ वटा कौडालाई चार दाउ बनाएर खेल्ने यो खेल विशेषत चारजना बिचमा खेलिन्छ। च्याँखे थाप्ने र वरिपरी हेर्नेको भिडले कौडा खेललाई रोमाञ्चक बनाउँछ। यो सबैभन्दा छिटो पैसा हारजीत हुने खेल हो। यसमा खेलाडीको खासै भूमिका हुँदैन। जसको हातमा कौडा छ उसले गुडाए पुग्छ। पत्रकार नकुल अर्यालाई खेल अवैधानिक नै भए पनि चाडबाडमा आफनो घरगाउँ नारायणगढमा पाकाहरुले खेलेको रमाइलो गरेको हेर्न मजा आउने बताउँछन्। तर पनि कतिपय गाउँघरमा तिर यो खेल हराउँदै गएको छ।
भक्तपुरको राँगो जात्रा
भक्तपुरको तलेजुमा कालरात्रि पुजा धुमधाम गर्ने प्रचलन छ। कालरात्रिका दिन तलेजु भवानीको मुलढोका दाँयाबाँयामा दुईजना मानिस देवता स्वरुप खडा भई राँगाहरुको बलि ग्रहण गर्छन। यो मल्ल राजाहरुले चलाएका हुन्। प्रतिपदाको दिन कुमारीचोकमा जमरा रोपेपछि भवानीको दैनिक पूजा गरिन्छ। कालरात्रि पुजाका लागि ३२ लक्षणयुक्त निक्खर राँगाको आवश्यक पर्छ। जसलाई न्यासी टोलस्थित राँगो पाल्ने घरमा राख्न लगिन्छ। अष्टमीका दिनमा राँगो जात्रा गरिन्छ। मानिसहरु सडकको दुवै छेउमा महिषासुरको रुपमा राँगोको दर्शन गर्न बसेका हुन्छ। जात्रा दरबार पुगेपछि राजकीय खड्ग लिएर बसेका पूजारी ब्राम्हणले राँगोलाई मुलचोकमा भित्राउने आदेश दिन्छन्।
त्यसैबेला कालरात्रि पुजा सुरु हुन्छ। मुलचोकमा पूजा सुरु हुन्छ। पुजा सकिएपछि कसाई नाइकेले ३२ लक्षणयुक्त राँगोको बली चढाई तलेजुको द्धारको दाँया–बाँयामा देवता स्वरुप बसेका दुई व्यक्तिलाई रगतका धाराले छ्यापी भोग चढाइन्छ। त्यसपछि अन्य राँगाहरु २५ वटाको बली पनि चढाइन्छ। त्यसपछि बली चढाइएको रगत हालेर भरिएको घैंटोलाई कसाईहरुले पुजा गरी बाजा बजाउँदै कालरात्रि विसर्जन गर्छन। यसबेला तलेजु भवानीको खडगजात्रा हुन्छ। मल्लकालिन यो राँगो जात्रा हिजोआज क्रमशः हराउँदै गएको छ।
दशैँमा सराँय नाचको रमझम
मध्यपश्चिमका पहाडी गाउँहरुमा सराँया नाचको रमझम सुरु भएको छ। गाउँघरमा रहेका मन्दिरहरुमा दशैंको सुरुवात भएपछि हातमा नाङ्गो तरबार लिएर धुमधामका साथ यो नाच नाच्ने प्रचलन छ। विशेष गरेर गुल्मी, अर्घाखाँची जिल्लाका गाउँहरुमा यो नाच देख्न पाइन्छ। गाउँमा रहेका मन्दिरहरुमा भेला भएर परम्परा अनुसार तिथि–मितिका आधारमा दशैंको पूर्णीमाका दिनसम्म यो नाच नाच्ने गरिन्छ। नाचका जानकार गुल्मी, विरबासका राज शाह भन्छन–‘नौरथा थापेर पूजा गरेको तरबार तथा खुँडा हातमा लिएर लडाईको कौशलता पूर्वक नाँच देखाइन्छ।’ स्थानीय भाषामा मन्दिरहरुलाई कोट भनिन्छ। सबै टोल तथा गाउँमा आफ्ना छुट्टै कोटहरु हुन्छ। त्यही कोटमा भेला भएर दशैंको नाच मार्फत स्वागत र विदा गर्ने प्रचलन छ। शाहले दिएको जानकारी अनुसार दशैंको टिका पनि विधिवत रुपमा सामुहिक रुपमा नाच नाचेरै लगाइन्छ। यो नेपालकै दुर्लभ सांस्कृतिक नाँच हो।
मार हान्ने वाहुन पुरेत
दशैँमा मार हान्ने प्रचलन पुरानै हो। काठमाडौं उपत्यकाका केही दरबारहरु र मन्दिरहरुमा मल्ल राजाहरुले चलाएको यो प्रचलन हाल राजाहरुकै पुरेतले धानिरहेका छन्। अनुसन्धानकर्ता जी टोफिनको एउटा अध्ययनले पाटनमा मल्ल राजाहरु र दशैंका बीचका गहिरो सम्बन्ध रहेको पुष्टि हुन्छ। उहिले दशैँ वडाइको क्रममा तरबार बोकेर नगर परिक्रमा गर्दर्थे। अहिले त्यो परम्परा पूजारीहरुले धानेका छन्। कतिपय अवस्थामा राजपुरोहित ब्राम्हण राजोपाध्ययहरु पनि बलि पुजामा सरिक हुन्छन् देवीलाई भोग चढाउँन। भक्तपुरमा पनि राजोपाध्य बाहुन पुजारीहरु राजकीय तरबार लिएर दशैं बढाईमा निस्कन्छन् र कालरात्रिको बलि दिने बेलामा राजाको भूमिका खेल्छन्। इतिहाँसको अध्ययनहरुले के देखाउँछ भने भक्तपुरका मल्ल राजाहरु दशैँ महोत्सवमा स्वयम सहभागी बन्दथे र आफैं राँगाको बलि चढाउँदथे। अहिले त्यो काम राजोपाध्यय पुजारीहरुले गर्दछन्। मध्यकालिन राजाहरुको पतन भए पनि त्यसको धार्मिक चिनो पुरेत्याइ गर्ने बाहुनहरुको हातमा पुगेको छ।
दशैँमा मात्र खुल्ने तलेजु
काठमाडौंको बसन्तपुर परिसरमा रहेको तलेजु भवानीको मन्दिर बर्षमा एक दिन मात्र खुल्छ। दशैंको महानवमीका दिन मात्र यो मन्दिरमा खुल्ने दिन दर्शनार्थीको भिड लाग्छ। प्रायः नेवारी समाजमा इष्टदेवीका रुपमा तुलजा भवानीलाई पुजिन्छ। तुलजा भवानीलाई लुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पुजाअर्चना गरिन्छ। देवी शक्ति वा मातृशक्तीका रुपमा तुलजा भवानीलाई पुजिन्छ। तुलजा भवानीको पुजा अर्चना नेपाल, भारत, लगायत तिब्बतमा पनि गरिन्छ। भक्तपुरमा रहेको तलेजु भवानीको मन्दिर पनि दशैँको नवमीका दिनमा मात्र खुल्ने गरेको छ
काठमाडौं उपत्यकाका तीन शहरवाहेक उपत्यकाकै साँखु, फर्पिङ, किर्तिपुर, ठिमी, चापागाउँ, नुवाकोट, बनेपा, पनौती र दोलखामा पनि तुलजा भवानीको मन्दिरहरु छन्। त्यस्तै भारतको हैदरावादको तुलजापुर र तिब्बतको भाखौरमा तुलजा भवानीको मन्दिर छ। नेपालमा तुलजा भवानीको प्रवेश गराउने व्यक्ति कर्नाटक बंशी राजा हरिहरसिहं देव हुन्। उनी सिम्रौनगढका राजा थिए। तलेजु भवानीलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुले मान्ने गर्दछन्।



