काठमाडौं। दशैँ मनाउन घर फर्कने क्रममा घटस्थापनादेखि फुलपातीसम्म करिब ५ लाख यात्रुले काठमाडौं छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना (भदौ ६) यता फुलपातीको दिनसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा ४ लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको संख्या बढेको जानकारी दिएका हुन्।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र १ लाख ११ हजार भन्दा बढी यात्रुले काठमाडौं छाडेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएको प्रहरीले जनाएको छ।
यसैगरी, घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा २ लाख ५२ हजार ७५५ जना काठमाडौं उपत्यका भित्रिएको प्रहरीले जनाएको छ।
दशैँमा गाउँ फर्किने यात्रुको संख्या बढ्दा काठमाडौं उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए।
यस्तै, १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ।



