काठमाडौं। चाडबाडको समयमा हिन्दूहरू मन्दिरमा पुगेर पूजा आराधना गर्नु अनिवार्य ठान्छन्। त्यति मात्र नभई धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन्। दशैँका बेला यस्ता मन्दिरहरूमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ। नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ।
पाथिभरा, ताप्लेजुङ
पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा देवी मन्दिर पुग्ने धेरैको इच्छा हुन्छ। चाडबाडको फुर्सदको समयमा पाथिभरा पुग्नेहरूको भीड नै लाग्छ। दशैँमा यहाँ भक्तजनहरूको घुइँचो लाग्छ। ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तरपूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा पर्दछ। ३ हजार ७९४ मिटरको उचाइमा रहेको मन्दिरमा हिउँद महिनामा भने जान कठिन हुन्छ।
चैत, वैशाख तथा असोज, कात्तिक महिना मन्दिरको दर्शन गर्न जान उपयुक्त हुन्छ। सुकेटर विमानस्थलबाट पैदल हिँड्दा करिब नौ घण्टा लाग्छ। यहाँ जतिसुकै बलि चढाए पनि रगत नदेखिने जनविश्वास छ। विराटनगर वा काठमाडौंबाट हवाई यातायातको सुविधा भए पनि सधैं जहाज जाँदैन। त्यसैले, झापाको चारआलीबाट सार्वजनिक सवारीमार्फत २७० किलोमिटर यात्रापछि फुङलिङ सदरमुकामबाट मन्दिरको यात्रा तय गर्न सकिन्छ।
हलेसी, खोटाङ
पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका (साबिक महादेवस्थान गाविस) मा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ।काठमाडौंबाट हलेसी बिहान सबेरै हिँड्दा साँझसम्म पुग्न सकिने शक्तिपीठ हो। यहाँको महादेव गुफा आकर्षक मानिन्छ। गुफामा बौद्ध, किराँत र हिन्दूहरूले उत्तिकै श्रद्धा एवं सम्मान गर्ने गर्छन्। विशेषगरी शिवरात्रि, बालाचतुर्दशी तथा रामनवमीका दिन यस मन्दिरमा भक्तजनको ठूलो संख्यामा भीड लाग्ने गर्छ। काठमाडौंबाट हलेसी महादेव पुग्न २३० किलोमिटरको यात्रा तय गर्नुपर्छ। दशैँका बेला यहाँ विशेष मेला लाग्ने गर्दछ।
छिन्नमस्ता, सप्तरी
सप्तरी जिल्लामा पर्ने छिन्नमस्ता देवीको मन्दिरमा विशेष गरेर दशैँका बेला भक्तजनहरूको धेरै भीड लाग्छ। सदरमुकाम राजविराजबाट १० किलोमिटर टाढाको सखडा गाउँमा पर्ने यो मन्दिर नेपाल र भारतको सिमानामा पर्छ। दशैँका बेला पशुपंक्षीको बलि दिनलाई धेरै भक्तजन यहाँ पुग्छन्। मन्दिरमा हिन्दू मात्र होइन मुसलमान समुदायहरू पनि दर्शन गर्न पुग्ने गर्छन्। मन्दिरभित्र मूल देवीको कालो रङको मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ। जसका कारण पनि साक्षात देवीका रूपमा भक्तजनहरू यहाँ पुग्छन्।
जालपा देवी, नुवाकोट
नुवाकोट जिल्लामा पर्ने जालपा देवी मन्दिरमा दशैँका बेला विशेष भीड लाग्ने गर्छ। सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको यो देवीघाट चाडबाडको समयमा पुग्नैपर्ने धार्मिकस्थल हो। पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएको नेपालको इतिहासमा उल्लेख छ। दशैँमा यहाँ नुवाकोट, धादिङ, रसुवासहित राजधानी काठमाडौंबाट समेत दर्शनार्थीहरू पुग्ने गरेका छन्।
ज्वालामुखी देवी, धादिङ
धादिङको चैनपुरमा पर्ने ज्वालामुखी देवीको मन्दिरमा पनि दशैँमा बढाइँ दिने प्रचलन छ। प्रसिद्ध शक्तिपीठका रूपमा यहाँ भक्तजनहरू आइपुग्छन्। सदरमुकाम धादिङबेंसीबाट काफलपानीसम्म गाडीमा सहजै पुग्न सकिने यो मन्दिर आसपासबाट धादिङका सबै गाविस देख्न पनि सकिन्छ।
बडिमालिकास्थान, कालिकोट
कालीकोट जिल्लाको बडिमालिका मन्दिर चाडबाडका समयमा धेरै घुइँचो लाग्ने मन्दिर हो। बडादशैँ तथा चैतेदशैँमा विशेष मेला लाग्ने भएकाले यसलाई ठूलो शक्तिकेन्द्रका रूपमा मान्ने गरिन्छ। १२ हजार २ सय १९ फिटको उचाइमा रहेको यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने प्रचलन छ। कालिकोटको मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ।
त्रिपुरा सुन्दरी, डोल्पा
डोल्पाको त्रिपुरा सुन्दरी भगवतीमा दशैँमा भीडभाड हुन्छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले महत्वपूणर् त्रिपुरा भेरी नदीको किनारमा पर्छ। पञ्चबलिका लागि प्रख्यात यस मन्दिरमा चैते दशैँ र बडादशैँमा भव्य मेला लाग्छ। त्रिपुरा नामको राक्षसलाई मारिएको हुनाले मन्दिरको नाम त्रिपुरा सुन्दरी रहन गएको विश्वास छ। यसको प्रवद्र्धनका लागि खप्तड स्वामी शंकराचार्यले ठूलो योगदान पुर्याएको मानिन्छ। डोल्पाको सदरमुकाम दुनैबाट १६ कोष पूर्वमा रहेको मन्दिर पुग्न पैदल हिँडेर पाँच घण्टामा पुग्न सकिन्छ। प्राकृतिक रूपमा पनि यो स्थान अति नै रमणीय छ।
बागलुङ कालिका
बागलुङ जिल्लामा रहेको बाग्लुङ कालिका देवीको मन्दिर चाडबाडका बेला विशेष भीडभाड हुने मन्दिर हो। पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि मन्दिरले चर्चा पाउन थालेको र भक्तजनहरूको भीड लाग्न थालेको मानिन्छ। सदरमुकाम बागलुङ बजारदेखि पूर्वमा कालिगण्डकी र कोठेखोलाको संगममा रहेको हात्तीसुँडे जंगलमा मन्दिर रहेको छ। दशैँको कालरात्रि र नवमीको दिन यहाँ राँगो, कुखुरा, सुगुर र परेवाको बलि दिइन्छ।
गहवामाई, बिरगंज
पर्सा जिल्लाको वीरगन्जमा रहेको गहवामाई दसैंका लागि प्रख्यात धार्मिक स्थल हो। गहवामाई मन्दिरमा बली चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। पशुबलि नचढाउनेहरू मिठाई, फलफूल र नरिवल चढाउने गर्दछन् भने उनीहरूले जमरा कोठामा घिरौंला, कुभिण्डो, मुला आदि बलि दिई दुर्गाभवानीलाई दही चिउरा, खीर तथा नरिवल चढाउने गर्दछन्।
प्रत्येक वर्ष बडादशैँको सप्तमीदेखि महानवमीसम्म ठूलो मेला लाग्ने गरेको गहवामाईमा विभिन्न कामना र भाकल गरिएका बोका, कुखुरा, हाँस र परेवालगायतका पशुपंक्षीको बलि चढाइन्छ। यहाँ नजिकैको भारतीय सहर रक्सौलसहित बिहार र आसपासका क्षेत्रबाट समेत दसैंमा भाकल पूजा गर्न उल्लेख्य संख्यामा भक्तजनहरू आउने गर्दछन्। जसका कारण घण्टाघर क्षेत्रदेखि बिर्ता बजारसम्मको सडक मेलाकै कारण अवरुद्धसमेत हुने गरेको छ।
उग्रतारा, डडेल्धुरा
सुदूरपश्चिमका नौ भगवतीमध्ये उग्रताराको दर्शनका लागि पनि हजारौं भक्तजन यहाँ पुग्ने गर्छन्। डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने यो मन्दिर बागबजारबाट चार किलोमिटर पश्चिमपट्टि रहेको छ। प्रत्येक वर्षको महाअष्टमीका दिन यहाँ भव्य मेला लाग्ने गर्छ। किंवदन्तीअनुसार २५ सय वर्षपहिले हालको अमरगढी नगरपालिका-८ लटाउली बस्ने सार्की जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको विश्वास गरिन्छ। यहाँ बलि दिने प्रचलन पनि छ।
मौलाकालिका, गैंडाकोट
नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिर चाडबाडका समयमा भीडभाड हुने मन्दिर हो। सवारीसाधन मन्दिरको प्रवेशद्धारसम्मै पुग्छ। त्यहाँबाट १ हजार ८९२ वटा सिँढी चढेपछि भगवतीको मन्दिर पुग्न सकिन्छ। सो मन्दिरमा अहिले केवरकार चढेर पनि जान सकिन्छ। तर, हिँडेर उकालो सिँढी पार गर्न करिब ४० मिनेट लाग्छ। यहाँ एउटा पोखरीको बीचमा गाडिएको काठको खम्बा र सामुन्ने कालीको मन्दिर छ। मन्दिरभित्र रहेको कालीको मूर्ति भने छुन पाइँदैन। दशैँका बेलामा यहाँ नारायणगढ बजारसहित नवलपरासी, चितवन, रूपन्देही तथा मकवानपुरबाट समेत भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन्।
गोरखकाली, गोरखा
बडादशैँमा विशेष महत्वका साथ पूजा-आरधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ। गोरखा दरबारस्थित मन्दिर दसैंघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश र नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गरी देउता सार्ने प्रचलन छ। सोही अवसरमा हर्षबढाइँ गरी दसैं प्रारम्भ भएको घोषणासमेत गरिन्छ। गोरखा दरबारसँगै रहेको मन्दिरमा वर्षौंअघि देखि बडादशैँका अवसरमा विशेष पूजाआजा हुने गरेको छ।
विन्ध्यवासिनी, पोखरा
पोखराको विन्ध्यवासिनीको मन्दिरमा पनि चाडबाडका बेला विशेष भीड लाग्ने गर्छ। भगवतीलाई विन्दुवासिनी पनि भनेर पूजा गर्ने गरिन्छ। बडादशैँको फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्राउने प्रचलन छ। पोखरा-बागलुङ सडकखण्डनजिकै पर्ने यो मन्दिर ३ सय वर्षअघि निर्माण भएको इतिहास छ। यस्तै, पर्सा जिल्लाको साबिक विन्ध्यवासिनी गाविसमा समेत विन्ध्यवासिनी मन्दिर छ। जहाँ दशैँ अवधिभर पूणर्िमासम्म धुमधामका साथ मेला लाग्ने गर्छ। यहाँ भारतबाट समेत भाकल पूजा गर्न उल्लेख्य संख्यामा भक्तजनहरू आउने गरेका छन्। यस्तै बारा, पर्सा, रौतहट, मकवानपुरबाट समेत यहाँ दर्शन गर्न भक्तजनहरू पुग्ने गर्दछन्।
पाल्पा भगवती
पाल्पाको तानसेन बजारको मध्य भागमा अवस्थित पाल्पा भगवती मन्दिरको बेग्लै धार्मिक महत्व छ। श्रीनगर डाँडामा रहेको मन्दिरको मध्य भागमा रणउजेश्वरी भगवतीको मूर्ति रहेको छ। भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुने गर्छ। अंग्रेजसँग युद्ध लड्नुपूर्व यहाँ सैनिकहरूले भव्य पूजाआजाको आयोजना गर्ने गर्थे भन्ने इतिहास पाइन्छ। बडादशैँका बेला पनि भगवतीको दर्शनका लागि भक्तजनहरू पुग्ने गर्छन्।
देउती बज्यै, सुर्खेत
सुर्खेतको ऐतिहासिक धार्मिकस्थल देउती बज्यै मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा प्रख्यात मानिन्छ। मन्दिर सदरमुकाम वीरेन्द्रनगर बजारबाट साढे तीन किलोमिटरको दूरीमा पर्छ। मन्दिरमा देवीका दुवै पाइला रहेकाले त्यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ। मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ। मन्दिरमा बोका बलि दिने, परेवा उडाउने र घण्टी चढाउने परम्परा छ।
गढीमाई, बारा
बलिका लागि चर्चित गढीमाईको मन्दिर बारा जिल्लामा पर्छ। सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्छ। बडादशैँका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ। गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ। यो शक्तिपीठ चर्चित शक्तिपीठ हो।
मनकामना, गोरखा
गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने मानिसहरू कमै मात्र भेटिन्छन्। चाडबाडको समयमा दर्शन गर्ने मात्र होइन घुमघामका लागि मनकामना पहिलो छनोटमा पर्छ। काठमाडौंबाट १०२ किलोमिटर यात्रा गरेपछि कुरिनटारबाट केबुलकार चढेर यस मन्दिरमा सहजै पुग्न सकिन्छ। पैदल जानेहरूका लागि आबुखैरेनीबाट करिब पाँच घण्टाको यात्रा तय गरेपछि पुगिन्छ। विशेष गरेर पशु बलिका लागि यो मन्दिर प्रख्यात छ। दशैँको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने प्रचलन छ।
पलाञ्चोक भगवती, काभ्रे
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालबाट नजिकै रहेको पलाञ्चोक भगवतीको मन्दिर चर्चित शक्तिपीठ हो। वैशाख पूणर्िमा र कात्तिक पूणर्िमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन्। मन्दिर लिच्छवी कालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् काठमाडौंको नक्साल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । यहाँ दशैँमा भक्तजनहरूको भीड लाग्छ।
भीमेश्वर, दोलखा
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो। किरातकालमा नै स्थापना भएको यस मन्दिरमा देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतका रूपमा पसिना आउने गर्दछ। मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदशैँ, बडादशैँमा मेला लाग्ने गर्दछ। काठमाडौंको पुरानो बसपार्कबाट १३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न चार किलोमिटरको यात्रा तय गर्नुपर्छ।
दक्षिणकाली, काठमाडौं
काठमाडौंबाट नजिकै रहेको दक्षीणकाली मन्दिर धार्मिक यात्राका लागि प्रमुख गन्तव्य मानिन्छ। विशेषगरी शनिबार र मंगलबार भीड लाग्ने यस मन्दिरमा बलि दिने प्रचलन पनि छ। दक्षिणकाली काठमाडौंबाट दक्षिणतर्फ करिब १७ किलोमिटरको बस यात्रा गरेपछि पुग्न सकिन्छ। राजा प्रताप मल्लद्वारा निर्माण गरिएको यो मन्दिर कालीदेवीको हो। यहाँ दशैँ अवधिभर धुमधामका साथ मेला लाग्ने गर्दछ। राजधानीवासीहरूको दशैँमा यहाँ भीड लाग्ने गर्दछ।
वनशक्ति माई, ठोरी
पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरीमा पर्ने वनशक्ति माईको मन्दिरमा दशैँको सुरु दिन घटस्थापनादेखि नै भव्य पूजा आराधना हुने गर्दछ। यहाँ भारतीय क्षेत्र पटनादेखिका भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। घरमा जमरा नराख्नेहरूले समेत यस मन्दिरमा जमरा राख्ने वा त्यहाँबाट घरमा लैजाने गर्दछन्। यस शक्तिपीठमा बलिसमेत दिइने गरिन्छ। यस मन्दिरमा चितवन जिल्लाबाट समेत भक्तजनहरू पूजा आराधनाका लागि पुग्ने गर्दछन्।
बज्रबाराही, ललितपुर
चार बाराहीमध्ये बज्रबाराही मन्दिरको बेग्लै महत्व छ। ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाउन सकिन्छ। प्राकृतिक रूपले सुन्दर साथै ऐतिहासिक स्थलका रूपमा पनि यस मन्दिरको महत्व छ। दसैंमा यहाँ बोकाको बलि दिने प्रचलन छ। कात्तिक शुक्ल अष्टमी, नवमी र दशमीका दिन यहाँ विशेष जात्रा देखाउने प्रचलन छ।
कालिञ्चोक, दोलखा
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदी बहिनी हुन् भन्ने किंवदन्ती रहेको छ। यो मन्दिर दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ। यहाँसम्म पुग्न हिजोआज कच्ची बाटोमार्फत ट्याक्सीमा समेत जान सकिन्छ। यस्तै निजी सवारीसाधनहरू समेत यहाँ लैजान सकिन्छ। हालै आएर यस मन्दिरमा पुग्नका लागि केबुलकारको पनि परीक्षण सञ्चालन सुरु गरिएको छ। यस मन्दिरमा दर्शन गरेमा चिताएको पूरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ। चाडबाडको समयमा यहाँ भक्तजनहरूको भीड लाग्ने गर्छ।
बज्रयोगिनी, साँखु
नेपालको प्राचीन सहर साँखुमा रहेको बज्रयोगिनी मन्दिरको विशेष महत्वव रहेको छ। काठमाडौंको पुरानो बसपार्कबाट १८ किलोमिटर टाढा रहेको यो मन्दिरमा विशेषगरी माघ महिनामा श्रीस्वस्थानी व्रतकथा मेला लाग्ने गर्छ। बज्रयोगिनी देवीलाई बौद्ध परम्पराअनुसार बुद्धशक्ति ‘तारा’का रूपमा मानिन्छ। यसकारण बज्रयोगिनी देवीलाई उग्रतारा पनि भनिने गरिन्छ। चैतमा बज्रयोगिनी जात्राकै आयोजना गरिन्छ। जात्राका बेला अन्डा, हाँस, बोका र राँगाको बलि दिने गरिन्छ।
चण्डेश्वरी, काभ्रे
चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा पर्दछ। नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीका रूपमा पुज्ने गर्दछन्। यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् भने बुद्धमार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मान्ने गर्दछन्। दशैँका बेला यहाँ सयौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन्।



