काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा यतिखेर वर्षा भइरहेकाे छ। हाल देशभर स्थानीय वायूकाे प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएको छ।
यसवर्षकाे दशैँ अवधिभर पनि मनसुनी वायूकाे प्रभावले वर्षा गराउनसक्ने विभागकाे पूर्वानुमान छ। नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बाहिरिने भएपनि प्रत्येक वर्ष सो मिति फरक फरक हुने र याेवर्ष पनि मनसुन नसकिएको विभागले जनाएको छ।
विभागका अनुसार असोज १४ गते अष्टमीका दिन बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ।
यस्तै कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै असोज १५ गते नवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी असोज १६ गते अर्थात् विजयादशमीका दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे विभागकाे पूर्वानुमान छ।
साथै कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दशैँ अवधिभर मनसुनी वायुकाे प्रभाव रहेकाले अपडेट लिइरहन र सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।



