काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २३ परीक्षा केन्द्रका उत्तरपुस्तिका जलेर नष्ट भएको छ।
आन्दोलनका क्रममा भएको आगजनीबाट प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका डिप्लोमा र प्रि-डिप्लोमा तहका उत्तरपुस्तिकाहरू जलेर नष्ट भएको सीटीईभीटीले जनाएको छ।
सीटीईभीटीद्वारा जारी सूचनामा जलेर नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा आगामी मंसिर ४ देखि सञ्चालन गरिने उल्लेख छ।
कहाँकहाँका उत्तरपुस्तिका जले?
सीटीईभीटीका अनुसार कोशी प्रदेशका पाँच ओटा र बागमती प्रदेशका १८ ओटा परीक्षा केन्द्रका उत्तरपुस्तिकाहरू जलेर नष्ट भएका छन्।
कोशी प्रदेशमा झापाका मोहन माया मावि, ढुकुरपानी मावि, वीर अमरसिंह मावि र सुनसरीका राष्ट्रिय मावि र कचना माविका उत्तरपुस्तिकाहरू आगजनीबाट नष्ट भएको हो।
यसैगरी बागमती प्रदेशअन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न परीक्षा केन्द्रका उत्तरपुस्तिकाहरू पनि आगजनीका कारण नष्ट भएका छन्।
काठमाडौँको शंखरापुर बहुप्राविधिक शिक्षालय, काठमाडौँ इन्स्टिच्युट अफ टेक्नोलोजी, मदन आश्रित स्मृति बहुप्राविधिक शिक्षालय, विनायक कलेज अफ हेल्थ साइन्स, शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाका उत्तरपुस्तिका नष्ट भएको छ।
यस्तै नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, जन प्रभात मावि, अल नेपाल कलेज अफ टेक्निकल एजुकेसन, होलि भिजन टेक्निकल क्याम्पस, कान्तिपुर कलेज अफ मेडिकल साइन्स, सितापाइला मावि, शुभेच्छा पोलिटेक्निकल इन्स्टिच्युटका उत्तरपुस्तिका समेत नष्ट भएको छ।
यसैगरी भक्तपुरको बागेश्वरी मावि, ललितपुरका शंखरापुर एकेडेमी, फुल्चोकी मावि, लुभु मावि, बि एण्ड बि मेडिकल इन्स्टिच्युट र काभ्रेपलाञ्चोकको नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा सञ्चालित परीक्षाका उत्तरपुस्तिकाहरू पनि जलेर नष्ट भएको सीटीईभीटीले भनेको छ।



