काभ्रे। रोशी खोलाको बाढीले काभ्रेमा गत १०,११ र १२ गते आएको अविरल वर्षासँगैको बाढीले गौरवका आयोजनामा पनि क्षती पुर्यायो।
रोशीको बाढीले बाढीले निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पतलको भवन नै बगाएको हो। रोशी गाउँपालिका वडा नम्बर १ मा नेपाल सरकारको ६ करोड ५ लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो।
सो अस्पताल करिब करिब निर्माण सम्पन्न भैसकेको थियो। केही बाँकी काम सकाएर संचालनका लागि तयार हुँदै गर्दा बाढीले बगाएको हो। सरकारले सबै स्थानीय तहलाई स्वास्थ्य सेवा सम्पन्न बनाउने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा आधारभुत अस्पताल बनाइरहेको छ।
बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ। गौरवका योजना मानिएका करिब १२ करोडका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका थिए।
गाउँपालिकाको वडा नम्बर ११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क पनि रोशी खोलाले बगाएको थियो।
सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो।
गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्माण सम्पन्न भएको र हुनै लगेका आधारभूत अस्पतालसहित, ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको बताए।
१४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको ५ करोड तथा गाउँपालिकाको ३८ लाख ६९ हजार खर्च भएको थियो। करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५ लाख विनियोजन गरेको छ।
सङ्ग्रहालय हाताभित्र करिब २ करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको छ। उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बगएको हो।
रोशी गाउँपालिका ११, कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ।
सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ करोड ६८ लाख र रोशी गाउँपालिकाको ५४ लाख गरी २ करोड २२ लाख खर्च भइसकेको छ ।
बाढी पहिरोमा परी रोशी गाउँपालिकामा ६ महिला, ३ पुरुष, १ बालक र ३ बालिका गरी १३ जनाको मृत्यु भएको थियो ।



