बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा दुई प्रहरीको हत्या र प्रहरी युनिट आगजनीको आरोपमा ४३ जना पक्राउ

काठमाडौंमा दुई प्रहरीको हत्या र प्रहरी युनिट आगजनीको आरोपमा ४३ जना पक्राउ

images
२०८२ आश्विन १० गते, शुक्रवार
२०८२ आश्विन १० गते, शुक्रवार
  • काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंका प्रहरी युनिट र सवारीसाधनमा आगजनी गर्ने ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पुर्णिमा चन्दका अनुसार जेन-जी आन्दोलनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न रहेका ब्यक्तिहरुको खोजी भइरहेको छ। हालसम्म ४३ जनालाई विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको उनले जानकारी दिइन्।

    images

    आरोपीहरुविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी चन्दको भनाइ छ।

    पक्राउ गरिएका आरोपीहरु प्रहरीको हत्यामा संलग्न, प्रहरी युनिटमा आगजनी गर्ने तथा सवारीसाधन आगजनी तथा तोडफोडमा संलग्न ब्यक्ति छन्।

    प्रहरीका अनुसार कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोप लागेका काठमाडौं महानगरपालिका–१३ घर भएका सचिन खड्का उर्फ गोल्डेन पक्राउ परेका छन्।

    यस्तै नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा रौतहट घर भएका १९ वर्षीय अंशुकुमार गुप्ता, सप्तरी घर भएका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाही घर भएका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषा घर भएका १९ वर्षीय अजयकुमार शाह ‘हिरो’ र रौतहट घर भएका २४ वर्षीय लक्किबावु जैसवाल तथा रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भन्ने शैरव यादव पक्राउ परेका छन्।

    यसैगरी प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्ने सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा पनि पक्राउ परेका छन्। 

    महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न दुई ब्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी र सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन्।

    प्रदर्शनकारीले भदौ २४ गतेको आन्दोलनमा डीएसपी भन्दै असई मिलन राय र जवान उत्तम थापाको हत्या गरेका थिए।

    आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी भएको प्रहरीले बताएको छ।

    उपत्यकामा रहेका ९६ वटा युनिटमा आंशिक क्षति पुगेको, तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।

    यस्तै काठमाडौँ, भक्तपुर र ललितपुरमा गरेर प्रहरीका १२१ वटा गाडीमा आगजनी भएको र ११७ वटा गाडी पूर्ण रूपमा जलेको तथ्यांक छ। ४ वटा गाडीमा भने आंशिक क्षति पुगेको छ।

    प्रहरीका दुई पांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन्। साइबर ब्यूरोको ४ वटा गाडीमा आगजनी भएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend