काठमाडौं। केपी ओली प्रधानमन्त्री हुँदा २०७५ सालमा अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत लगिएको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सरकारले अर्थमत्रालय मातहत नै फिर्ता ल्याएको छ।
बिहीबार बसेको मन्त्री परिषद् बैठकमार्फत सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत नै फिर्ता ल्याएको हो।
यसैगरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतबाट गृह मन्त्रालय मातहत ल्याइएको छ। यो विभाग पनि पहिले गृह मातहत नै थियो।
संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता जगदीश खरेलले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको जानकारी दिएका हुन्।



