काठमाडौं। जेन-जी आन्दोलनका कारण रोकिएको कक्षा १२ को पुरक परीक्षा आज असोज ७ र भोलि ८ गते हुँदै छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको थियो। तर जेन-जी आन्दोलनका कारण परीक्षा रोकिएको थियो। परीक्षा बोर्डले तालिका संशोधन गरी पुन: नयाँ तालिका सार्वजनिक गरेको हो।
जसअनुसार आज असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।
यस्तै भोलि असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको बताएको छ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जानकारी दिएको छ।



