काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार जना मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बिच राष्ट्रपति पौडेलले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, महावीर पुन र डा. मदन परियारलाई मन्त्री पदको सपथ गराएका हुन्।
सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधार, पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि र खरेललाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रीपरिषद् विस्तारला लागि प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच जनाको नाम मन्त्रीका लागि सिफारिस गरेकी थिइन्। तर सिफारिसमा परेकी डा. संगिता कौशल मिश्राको नाम भने मन्त्रीको लिस्टबाट हटाइएको छ।
उनको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएको थियो। तर उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समाचार बाहिरिएपछि उनको नाम मन्त्रीको लिस्टबाट प्रधानमन्त्री आफैंले हटाएकी हुन्।



