काठमाडौं। जेन-जी आन्दोलनपछि बनेको सरकारमा थप पाँच जना मन्त्री बन्दै छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच जनाको नाम मन्त्रीका लागि सिफारिस गरेकी हुन्। यसअघि तीन जना कार्की क्याबिनेटमा मन्त्री बनिसकेका छन्।
राष्ट्रपति पौडेलले आइतबार सिफारिस गरेका ती पाचैं जनालाई सोमबार (आज) मन्त्री पदको सपथ गराउने राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरु कसैको पनि आइतबार नियुक्ति भएको छैन। क-कसको नाम मन्त्रीका लागि सिफारिस भएको छ भन्ने बारे पनि राष्ट्रपति कार्यालयले केही खुलाएको छैन।
प्रधानमन्त्री कार्कीले भने पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा, महावीर पुन र डा. मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरेकी छन्। मिश्राले आइतबार मात्रै अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
राष्ट्रपति कार्यालयका एक उच्च तहका कर्मचारीका अनुसार सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज हुने छ।
प्रधानमन्त्री कार्कीले मन्त्री सिफारिस गर्दा सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिनेगरी सिफारिस गरेकी छन्।
यस्तै पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मिश्रालाई स्वास्थ्य तथा जनसंख्या, मदन परियारलाई कृषि र खरेललाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको बताइन्छ।
स्रोतले भन्यो, `मन्त्रीको नाम अझै केही फेरबदल हुन सक्छ, सपथसम्म कुरौं।´



