काठमाडौं। गत वैशाखदेखि हालसम्म विभिन्न किसिमका विपद्जन्य घटनामा परेर देशभर २४३ जनाको मृत्युु भएको छ।
यो अवधिमा देशभर कूल ३ हजार ६८१ विपद्का घटना हुँदा २४३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ती घटनामा परेर ८६९ जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन्।
ती घटनाबाट ६ हजार ५९० घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन्।
१ हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन्। आगलागीमा परेर १ हजार ४११ घरपरिवार प्रभावित भएका छन्।
यसैगरी बाढीका २६३ घटना हुँदा २९ जनाको मृत्यु भएको छ। बाढीमा परेर २३ जना बेपत्ता र १४ घाइते हुँदा १ हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
यस्तै, ४६३ वटा पहिरोका घटनामा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। भारी वर्षाका कारण मात्रै ३४० घटना हुँदा ६ जनाको ज्यान गएको छ। भारी वर्षाका कारण १४ जना घाइते छन्। यस्तै ८११ परिवार प्रभावित भएका छन्।
प्राधिकरणले सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएको भनेको छ। चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन्। जसका कारण ३५१ परिवार प्रभावित भएका छन्।
यसैगरी सर्पदंशका ३०४ घटना हुँदाक ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन्। वन डढेलोबाट १८५ घटनामा परेर २ जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन्।
त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा ८ जनाको निधन भएको छ भने ४४ जना घाइते भएका छन्। हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन्।
जनावर आक्रमणका २१७ घटना हुँदा २० जानको ज्यान गएको छ भने ८८ जना घाइते तथा ३६६ परिवार प्रभावित भएका छन्।



