भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालि देशका ७५३ स्थानीय तहहरु मध्येमा वायु गुणस्तर सुधारमा अघि बढ्ने पहिलो नगरपालिका भएको दावी गरिएको छ।
आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिका कार्यालय खरिपाटीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले आफ्नो नगरपालिका वायु गुणस्तरको सुधारका लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो स्थानीय तह भएको दाबी गरेका छन् ।
'सरसफाइ ब्यवस्थापनको कार्यविधी बनाएक छौ, वायु गुणस्तरको सुधारका लागि कार्यविधि नै बनाएर अघि बढेका छौं, वायुप्रदुषण नियन्त्रणमा कार्यबिधी बनाउने चाँगुनारायण पहिलो नगरपालिका हो, देशै भरमा पहिलाे हाे।', उनले भने।
नगरप्रमुख खत्रीले आफुले अघिल्ला जनप्रतिनिधिले औरु गरेका कामलाई सथ लिएर अघि बढेको तथा थप नयाँ कार्यक्रमहरु पनि अघि बढाएको बताउदै सधैं नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताए।
‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं, भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं,´ उनले भने।
कार्यक्रममा नगरप्रमुख खत्रीले आफूहरु शासकका रुपमा नभइ सेवकका रुपमा सेवा दिइरहेको दाबी गरे। कानुनले नै तोकेको ऐन नियमको दायरामा बसेर पारदर्शी ढंगले कार्यहरु गरिरहेको उल्लेख गर्दै खत्रीले नगरपालिकामा काम लिएर आउने सेवाग्राहीलाई ‘मुस्कानसहितको सेवा’ दिइरहेको दाबीसमेत गरे।
नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरेको बताउँदै उनले त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि याेजना बनाइरहेको बताए। तर, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने उनले गुनासो गरे।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताउँदै प्रमुख खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएकोसमेत जानकारी दिए।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक वनावटका कारण यातायातको समस्या रहेपनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको जानकारी दिए।
बस नचल्ने स्थानमा ‘अटो’ र दशैंको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उप प्रमुख बुढाथोकीले जानकारी दिए।
नगरपालिकाले चाँगुनारायण नगर अस्पताल सञ्चालन गरेपनि त्यसले हालसम्म सरकारबाट स्वीकृति नपाएको उनले गुनासो गरे। नगरपालिकाले तोकिएका सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेका कारण स्थानीयकाे उपचारमा समस्या भएकाे उप प्रमुख बुढाथोकीले बताए।
स्वास्थ्य र खेलकुदलाई सँगैसँगै लैजान नगरपालिकाले नै प्रशिक्षक राखेर खेलकुदको तालिम दिइरहेको बताउँदै बुढाथोकीले खेलकुदले स्वस्थ रहन मद्दत गर्ने ठानेर स्वास्थ्य र खेलकुदलाई साथसाथै लैजाने गरी कार्यहरु गरिएकाे जानकारी दिए।
उपप्रमुख बुढाथोकीका अनुसार चाँगुनारायण नगरपालिकामा एक घर एक धाराको नीति अनुसार सबै नगरबासीलाई आवश्यकता अनुसार पानीको वितरण गर्न बजेट विनियोजन गरिएको छ।
कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले पछिल्लो नेतृत्व आएसंगै सडक लगायतका पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्यहरु भइरहेको दाबी गरे। वडा कार्यालयको भवन निर्माण भइरहेको साथै, बाढीपहिरोले बिगारेको सडकहरुको पुनःनिर्माणका कार्यहरु पनि सँगसँगै लगिएको उनकाे भनाइ थियाे।
नगरपालिकाले भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै लैजाने उद्देश्यले विभिन्न तालिम, गोष्ठी आदिको आयोजना गर्दै आएको बताउँदै पौडेलले नगरपालिकाले स्थानीयलाई निःशुल्क रगत र अक्सिजनको व्यवस्था समेत गर्ने गरेको बताए।
कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष साेम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे।
यस्तै वडाबासीलाई घरघरममै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ्य कार्यक्रम’ लागू गराउने तयारी गरिएको उनले जानकारी दिए।
वडा नम्बर ६ का अध्यक्ष धन बहादुर लामाले पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडककाे दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएको बताए।
भूकम्पका कारण थलिएको अर्थतन्त्र र त्यसपछिको कोरोना महामारीका कारणले भएको आर्थिक मन्दिका कारण पनि नगरकाेटमा पर्यटक घट्दै गएको उनले स्पस्ट पारे।
नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थान भनेर ‘रि–ब्राण्डिङ’ गर्न आवश्यक रहेको वडाध्यक्ष लामाले बताए।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष श्याम नायजु श्रेष्ठले आफू निर्वाचित भएर आएपछि अघिल्ला कार्यकालमा पुरा नभएका कार्यहरुलाई निरन्तरता दिएको बताए।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिएका थिए।
उनले पुरातात्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र औंल्याएका थिए।
राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले स्थानीय तहदेखि संघीय सरकारसंगको समन्वयमा अध्ययन, अनुसन्धान लगायका काम गर्दै आएको बताए।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष एवं पत्रकार महासंघ भक्तपुरका पुर्व अध्यक्ष पुष्करराज बुढाथोकी र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले पनि मन्तव्य राखेका थिए।



