काठमाडौं। जेन-जी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालको नाम मन्त्रीका लागि सिफारिस गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तारका लागि पहिलो चरणमा राष्ट्रपति कार्यालयलाई नाम सिफारिस गरेकी हुन्।
जसअनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिने गरि सिफारिस गरिएको छ।
यस्तै पुर्व अर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री तथा कानुनविद् ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिनेगरी नाम सिफारिस भएको स्रोतले बतायो।
यी तीनै जनाको नाम सिफारिस गरेर नियुक्तिका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पठाइएको हो।
मन्त्री सिफारिसमा परेका अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए।
राष्ट्रपति कार्यालयले तीनै जना मन्त्रीको सपथ भोलि साँझ गर्ने तयारी गरेको बताइएको छ।
गत सोमबार र मंगलबार जेन-जी पुस्ताका युवाहरूले काठमाडौं लगायत देशभरी प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।



