काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा राति मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।



