काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति पूर्ण समर्थन रहेको बताएका छन्। सँगै उनले अविलम्ब संसद विघटन गर्न राष्ट्रपतिसँग माग गरेका छन्।
उनले बुधबार राति सामाजिक संजाल फेसफुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति आफ्नो पूर्ण समर्थन रहेको भनेका छन्। सो नाम जेन-जी बाटै आएको प्रस्ताव भएको उनले लेखेका छन्।
°प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।´ बालेनले लेखेका छन्।
उनी अघि लेख्छन्, `अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।´
उनले राष्ट्रपति रामचन्द्र पौडेललाईसमेत अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न आग्रह गरेका हुन्।
`सम्माननिय रास्ट्रपति ज्यु , Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला।´




