काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपालमा लोकतन्त्रको स्थापना र वाक स्वतन्त्रताको रक्षाका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने ब्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणको निन्दा गरिएको छ।
देशको संविधान निर्माण गर्दा नागरिक स्वतन्त्रताको विषयलाई समेट्ने विषय होस वा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई शीर्ष नेताको बालुवाटार बैठकमा जेल हाल्ने प्रसंग चल्दा विरोधमा आक्रामक रुपमा प्रस्तुत हुने देउवा माथि जेन-जी समूहले मंगलबार गरेको आक्रमणको सर्वत्र विरोध भइरहेको छ।
जेन-जी समूहले मंगलबार देउवा दम्पतीमाथि निवासमा नै कुटपिट गर्दै घाइते बनाएका थिए। जेन-जी समूहले उनको निवासमा आगजनी गरेर दम्पतीमाथि आक्रमण गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई जोगाएका थिए।
जेन–जी आन्दोलनका क्रममा भएको कुटपिट र अमानवीय व्यवहार भएको भन्दै देउवा सेवा समाजले घोर निन्दा गरेको छ।
देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ।
समाजका अध्यक्ष गजैसिंह देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समकालीन नेताहरू घर छाडेर भाग्दा पनि देउवा आफ्नै निवासमा दृढतापूर्वक बसिरहनु भएको थियो। उहाँ कुनै राजनीतिक बिरासतबाट होइन, झुपडीबाट उठेर देशका लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो।’
विज्ञप्तिमा सो घटनालाई सुनियोजित हमला भन्दै आपराधिक प्रवृत्तिका व्यक्तिहरूको संलग्नता हुनसक्ने भनिएको छ।
यता, शेरबहादुर देउवाका समर्थक र शुभेच्छुकहरुले घटनाको गहिरो दुःख व्यक्त गर्दै देउवाको योगदानको स्मरण गरेका छन्। घटनापछि सामाजिक संजाल तातेको छ।
जेनजी आन्दोलनकारीका नाममा मंगलबार भएको कुटपिटको घटनापछि देउवा दम्पत्तिप्रति सद्भाव र सुभेच्छा व्यक्त गर्नेदेखि आलोचनासम्मका स्टाटसहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन्।
‘आदरणीय शेरबहादुर देउबा तथा आरजु राणा देउवा!सलाम छ तपाईंहरुलाई एक रत्तिपनी नडाराई कहि कतै नभागी आफ्नै घरमा बसि परिस्थितिको सामना गर्न तयार हुनुभयो तर विचलित हुनु भएन। भाग्न चाहनु भएको भए तपाईहरू पनि अरु नेताहरू जस्तो भाग्न र लुक्न सक्नू हुन्थ्यो, तर नबीराउनू नाड़राउनु भनेर आफ्नो निवास छोड़नू भएन! लात्तीदेखि ढुङ्गाको वर्षा सहनु भयो तर आत्तिनु भएन! तपाईंहरू दुबैको सिघ्र स्वास्थ्य तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु र सधैं तपाईंको साथमा रहनेछु। स्टकुल देबताले सधै रक्षा गर्ने छ्न। देउवा समर्थकले सामाजिक संजालमा लेखेका छन्।
यसैगरी सामाजिक संजालमा देउवाले सजाय पाउनुका कारण भन्दै केही पोष्टहरु भाउरल भएका छन्।
`तपाईंले आज सजाय पाउनुको कारण के यी नै हुन्?´ भन्दै उनका समर्थकले सामाजिक संजालमा अगाडी यस्तो लेखेका छन्।
`–तपाईंले वाक् स्वतन्त्रताको लागि लड्नुभयो ।
–तपाईंले शान्तिका लागि लड्नुभयो।
–तपाईंले जनमतको लागि संघर्ष गर्नुभयो।
–तपाईंले सुदूरपश्चिममा परम्परागत छाउपडी प्रथाको विरुद्ध आवाज उठाउनुभयो।
–तपाईंले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्नुभयो।
–तपाईंले महिला आयोग स्थापना गर्नुभयो।
–तपाईंले निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्नुभयो।
–तपाईंले राजतन्त्रको विरुद्ध जनताको पक्षमा उभिनुभयो।
–तपाईंले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्नुभयो।
–तपाईंले हलिया प्रथा अन्त्य गर्नुभयो।
–तपाईंले सामाजिक सञ्जाल बन्द हुनुहुँदैन भन्नुभयो।
–तपाईंले बालेनलाई कारबाही गर्न (जेल) हुँदैन भन्नुभयो।
–तपाईंले देशलाई माया गर्नुभयो।
–तपाईंले नेपाली जनताको हकअधिकारका निम्ति लड्नुभयो।
–हजारौं सुत्केरी महिला तथा नवजात शिशुहरुको ज्यान बचाएर मानव सेवा गर्नु भयो।´ सामाजिक संजालमा लेखिएको छ।
यसैगरी `नेपालमा समावेशीताको प्रादुर्भाव मात्रै होइन पूर्ण कार्यान्वयन गर्नुभयो जहाँ कदमजम (कर्णाली, दलित, महिला,जनजाति र मधेस) विकासको स्पष्ट सिद्धान्त स्थापित गरि संविधानमा नै स्थापित गर्नुभयो।´ सामाजिक संजालमा उनका समर्थकहरुले लेखेका छन्।
देउवाले २०७२ सालको संविधान जारी हुँदा नागरिक स्वतन्त्रतामा कुनै कमी गर्न नहुने अडान लिएका थिए। उनले २०४६ सालको संविधान भन्दा पनि २०७२ को संविधान नागरिकको स्वतन्त्रतामा खुकुलो हुनुपर्ने राय राखेका थिए।
यसैगरी देउवाले सामाजिक संजालमा आफ्ना विचार राख्दा समकक्षी कम्युनिस्ट नेताहरुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पक्राउ गरेर जेल हाल्नु पर्ने राय दिंदा विरोध गरेका थिए। सो बारे सिके राउतले एक टेलिभिजन अन्तर्वार्तामा मुख खोलेका थिए।



