काठमाडौं। जेन-जी पुस्ताको आन्दोलनका क्रममा सरकार बर्बरतापुर्वक दमनमा उत्रिएपछि सत्तामै रहेको दल नेपाली कांग्रेसमाथि सरकार छाड्न दबाब बढेको छ। दबाब बढेपछि कांग्रेसले सरकार छाड्ने तयारी गरेको बुझिएको छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा जेन-जी प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै कांग्रेस मन्त्रीहरुले प्रधानमन्त्रीसँग सवालजवाफ गरेका थिए।
सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झनै आक्रामक व्यवहार देखाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले सच्चिने संकेत नदेखाएपछि कांग्रेस सरकार छाड्ने मनस्थितिमा पुगेको हो। सत्ता छाड्न कांग्रेसका शीर्ष नेताहरुले सभापतिमाथि दबाब बढाइरहेका छन्।
कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन नहुने र सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताए। उनले पार्टीको बैठकबाट यो निर्णय गराउन आफू लाग्ने सामाजिक संजालमा लेखेका छन्।
`रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।´ थापाले लेखेका छन्।
कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले पनि पार्टीका मन्त्रीहरुलाई राजिनामा दिन आग्रह गरेका छन्। कोइराला हाल चीन भ्रणमा छन्। उनले फोन मार्फत राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। मन्त्री अधिकारीले भने केहीबेर अघि राजिनामा दिएका छन्।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले भने हिजो सोमबार साँझ नै पदबाट राजीनामा दिइसकेका छन्।
सोमबार जेन-जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ। कांग्रेसमाथि पनि सरकार छाड्न चौतर्फी दबाब छ।



