काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।
जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंमा अवस्था तनावग्रस्त भएपछि ललितपुर प्रशासनले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो। सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहने जनाएको छ।
कहाँकहाँ निषेधाज्ञा?
ललितपुर प्रशासनका अनुसार पुल्चोकस्थित यूएन हाउस र न्यायाधीस निवासको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
जसअनुसार पूर्वतर्फ इनाररोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकारी आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्र अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा कायम रहने सुचनामा उल्लेख छ।
यस्तै भैंसीपाटीस्थित मन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा लागु गरिएको छ।
जसअनुसार पूर्वमा भैंसेपाटी बुंगमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैंसेपाटी आवास गेटमा निषेधाज्ञा लागू हुनेछ।
यसैगरी सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र, पूर्वमा सानेपा चोकबाट ईन्द्रायणी मन्दिर पक्की सडक क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ।
जारी सूचनामा निषेधाज्ञा अवधिभर कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्य नगर्न भनिएको छ।




