काठमाडौं। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक विभिन्न चरण पार गर्दै प्रतिनिधि सभामा प्रस्तुत भएको छ।
२०८१ साल माघ १५ गते संघीय संसदमा दर्ता भएको उक्त विधेयक सुरुमा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदै अघि बढेको थियो। त्यसपछि राष्ट्रिय सभामा दर्ता हुँदै राष्ट्रिय सभाको विधायन समितिमा छलफल भएको थियो। त्यहाबाट सर्वसम्मत रुपमा पारित भई राष्ट्रिय सभाबाटसमेत सर्वसम्मत पारित भएर कानून निर्माणको चरण पार भएर विधेयक बुधबार सदनमा प्रस्तुत भएको हो।
के छन् नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा प्रमुख व्यवस्था?
१. आमालाई प्रसुती गृहमा भर्ना गरेपश्चात कोही कसैलाई थाहा जानकारी नदिइ भागी गएको र हालसम्म सम्पर्कमा नआएको, बाबुको नाम उल्लेख गरे पनि निजलाई देख्न र चिन्न नपाएको, बाबु हो भनी अरुले देखाएको मानिस भएपनि निज हाल जिवित वा मृत केही थाहाँ नभएको, बाबुको भौतिक उपस्थिति, निजबाट पाउनुपर्ने वात्सल्य प्रेम र हेरविचार वा जिम्मेवारी कहिल्यै नउठाएको, त्यस्ता बालबालिकाले निज बालिग भएपछि बाबु भएको आधार पुष्टि गर्न नसकेको तर त्यस्ता बाबुहरुको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुले हालसम्म नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन। त्यस्ता व्यक्तिहरुको बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्नेछ।
२. नेपालको अन्तरिम संविधान बमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
३. नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।
४. सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
विधेयक पारित भए कसले पाउँछन् सहज रुपमा नागरिकता?
१. अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुनेछ।
२. संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन।
३. नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ।
४. आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
५. विद्यमान समयमा बदलिदो सामाजिक परिवेश अनुसार पहिचान विहिन भएर बस्नु परेको बैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकता विहिन भईरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
६. नेपाली बाबु वा आमाका सन्तानलाई वैदेशीक यात्राको सहजिकरणका लागि नाबालक परिचयपत्र प्रदान गर्न सकिनेछ।
कहिले कहाँ पुग्यो विधेयक?
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माघ १५ मा संघीय संसदमा दर्ता भई उक्त विधेयक उपर घनिभूत छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएकोमा समितिमा विधेयक उपर दफावार छलफल गरी सर्वसम्मत रुपमा पारित भई प्रतिवेदन सहित राष्ट्रिय सभामा मिति २०८२ असार १४ मा दर्ता भएको थियो।
राष्ट्रिय सभाको सदनमा समेत उक्त विधेयक उपर छलफल भई प्रस्तुत विधेयकलाई थप प्रभावकारी र समृद्ध बनाउनका लागि राष्ट्रिय सभाको विद्यायन समितिमा पठाइएको थियो।
सो समितिमा समेत विधेयकउपर गहनरुपमा छलफल भई समितिबाट २०८२ भदौ १ गते सर्वसम्मत रुपमा पारित भएर प्रतिवेदन सहित राष्ट्रिय सभामा पेश भएकोमा मिति २०८२ भदौ ६ गते विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित भएको थियो। कानून निर्माणको यी चरण पार गर्दै थप समृद्ध हुँदै प्रस्तुत विधेयक आज सदनमा प्रस्तुत भएको हो।



