काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतर्फ रहेकाले मनसुन केही कमजोर हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रिरहेको छ।
आज मंगलबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान छ।
आज बिहानैदेखि कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
यस्तै नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार कोशी, महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको छ।
आज कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।
त्यसैगरी इलाम, झापा, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर ,गोरखा, लमजुङ, तनहुँ, डोल्पा, मुगु, बर्दिया र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।



