काठमाडौं। पछिल्लो समय नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका विषयमा छलफल र बहसहरु खुला हुन थालेका छन्। यो विषयमा राज्यका नीति निर्माणको तहमासमेत आवश्यक छलफल र बहस हुने गरेको छ। तर शिक्षाको सुरुको थलो विद्यालय तहमा भने यो विषय त्यति धेरै प्राथमिकतामा पर्दैन न त पाठ्यक्रममा नै छ।
डिल्लीबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका अनिता खरेल यौनिक तथा लैंगिक आल्पसंख्यक समुदायका बालबालिकाबारे पर्याप्त तालिमको अभाव भएको बताउँछिन्।
`यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा हामिले सुनेका छौं, तर ठ्याक्कै विषयको गाम्भिर्यता बुझेका छैनौं, त्यो विषयमा तालिम पनि पाएका छैनौं, निर्देशिकामा पनि कसरी बुझाउने उल्लेख छैन।´ उनले भनिन्।
सो विद्यालयमा एक जना सो समुदायको विद्यार्थी अध्ययन गर्ने गरेको खरेल बताउँछिन् तर ती विद्यार्थीले आफ्नो पहिचान खुलाउने गरेका छैनन्।
`एकजना विद्यार्थी स्कुलमा छन्, तर उनी आफ्नो पहिचान खुलाउँदैनन, हामीले नै उसलाई सहज होस् भनेर त्यही अनुसार व्यवहार गर्दिने गरेका छौं।´ शिक्षिका खरेलले भनिन्।
चितवनको भरतपुर महानगरपालिकाको शिक्षा शाखा प्रमुख पदमा लामो समय कार्यरत रहेर भर्खरै अवकास पाएका उपसचिव महेन्द्र पौडेल पाठ्यक्रममासमेत पर्याप्त सामग्री नहुँदा र भएका विषयमा पनि गाइडलाइन नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा अध्ययन गराउन असहज हुने बताउँछन्।
`राज्यले यस्ता विषयमा तालिम नै दिनु पर्छ, हामीले पढाएका कुरा बच्चाको दिमागमा सेट हुन्छ, गलत हुनु हुँदैन, स्पष्ट बुझिने गरेर शिक्षकलाई राज्यले योजना बनाएरै गाइडलाइन तालिम दिनु पर्छ, विषयको गाम्भिर्यता नबुझी हचुवामा पढाउँदा कक्षा कोठामा यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिका नै छन भने विभेद हुन्छ, राम्रो हुँदैन, सरकारले नीति बनाएरै यो विषयमा अघि बढ्नु पर्छ।´ पौडेलले भने।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अभियन्ता भुमिका श्रेष्ठले कक्षा ६ देखि कक्षा १२ सम्मको पाठ्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिको अवस्था, यौन जीवन, उनीहरुको पहिचान र सामाजिक मान्यताका विषयमा पर्याप्त पढाइका लागि पाठ्यक्रममा तत्काल सुधार गर्नुपर्छ भनेर विगतदेखि नै आवाज उठाइरहेको भएपनि पर्याप्त नभएको बताइन्।
`हामीले कक्षा ६ देखि कक्षा १२ सम्मको पाठ्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिको अवस्था, यौन जीवन, उनीहरुको पहिचान र सामाजिक मान्यताका विषयमा पर्याप्त पढाइका लागि पाठ्यक्रममा तत्काल सुधार गर्नुपर्छ भनेर विगतदेखि नै आवाज उठाइरहेका छौं, तर अझै पर्याप्त छैन।´ नील हिरा समाजमा आबद्ध रहेकी श्रेष्ठले भनिन्।
नेपालमा यौनिकता शिक्षाको अवधारण २००७ सालबाट शुरु भएको मानिन्छ। तर सात दशकसम्म पनि विद्यालय पाठ्यक्रम र कानून विषयमा यौनिकता शिक्षा पर्याप्त छैन।
हाल कक्षा ६, ७, ८ को स्वास्थ्य तथा शारीरिक सिकाइमा यौनिकताबारेको विषय समावेश गरिएको छ। कक्षा सातको स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अन्तर्गतको एकाइ ५ मा ‘यौन तथा प्रजनन स्वास्थ्य’, कक्षा १० को सामाजिक अध्ययन विषयमा ‘हाम्रो पहिचान’मा साथै कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको पाठ २ मा रहेको ‘लैङ्गिक सवाल’मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिका बारेमा उल्लेख छ।
यसैगरी कानून विषयमा पनि कानूनी अधिकारको अवस्था र प्रक्रियाका विषय समेटिएका छन्। विश्व विद्यालय अन्तर्गत स्नाकोत्तर तहको समाजशास्त्र एवम मानवशास्त्र विषयमा पनि यौनिक अल्पसंख्यकबारे समेटिएको छ।
नील हिरा समाजले संघ, प्रदेश तथा स्थानीय तहमा विद्यालय तथा समुदाय स्तरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक वालवालिकामैत्री शैक्षिक वातावरण बनाउन र ६ देखि १२ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तकहरुमा यौनिक अभिमुखिकरण तथा लैङ्गिक पहिचानका विषयमा पर्याप्त जानकारी र पठनपाठनको व्यवस्था मिलाउन सरकार र जनक शिक्षा सामग्री केन्द्रसँग पटकपटक माग गर्दै आइरहेको छ।
सन् २००३ मा विद्यालय शिक्षाको पाठ्यक्रममा वृहत्तर यौनिक शिक्षा पहिलो पटक लागू भएको भएपनि त्यो कक्षा ९ र १० मा मात्रै थियो। सन् २०१३ मा परिमार्जन गरि सो शिक्षालाई कक्षा ६, ७ र ८ मा लागू गरिएको थियो। यौनिक शिक्षालाई विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावारण शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षामा समावेश गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु शिक्षाको पहुँचमा नभएर बलात्कार, लैगिङ हिंसा, अपमान साथै शिक्षाबाट नै बन्चित हुनुपरिरहेकाले सोही अनुसार शैक्षिक रणनीति आवश्यक भएको बताइन्छ।
विद्यालय तहको विभिन्न तहमा समेटिएको यौनिक शिक्षालाई कार्यान्वयनका लागि शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धि तालिम आवश्यक भएको पनि अभियन्ताहरुको भनाइ छ ।
सामान्यतया यौनिक तथा लैङ्गिक अल्पसंख्यकका विषयमा समेटिनुपर्ने भनेको उनीहरुको यौन पहिचान, यौन व्यवहार र सम्बन्ध अध्ययनका विषय हुन। यी विषयलाई बृहत यौनिकता शिक्षामा समेटेर पढाइ हुनुपर्छ।
यस्तै विद्यालय तहमा पढाइरहेका शिक्षकहरुका लागि समलिंगी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी, दुई लिङ्गी, पारलिंगी शब्दहरुको प्रवेशले थप सकस भइरहेको छ। यि विषयका बारेमा पर्याप्त शैक्षिक सामग्री वा तालिम र अभिमुखिकरण नहुँदा शिक्षकहरु विषयबस्तुबारे अनभिज्ञ देखिन्छन्। जसले गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बालबालिकाहरु पनि विद्यालय तहदेखी नै रज्यबाट विभेदको शिकार हुँदै आइरहेका छन्।



