मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालले पायो रुबेला मुक्त देश घोषणा भएको प्रमाणपत्र

नेपालले पायो रुबेला मुक्त देश घोषणा भएको प्रमाणपत्र

images
२०८२ भाद्र ९ गते, सोमवार
२०८२ भाद्र ९ गते, सोमवार
  • काठमाडौं। नेपालले रुबेला मुक्त देश घोषणा भएको प्रमाणपत्र प्राप्त गरेको छ।

    images

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

    images

    जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा आजबाट रुबेला मुक्त देश घोषित भएको हो। योसँगै रुबेला निवारण गर्ने विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ।

    विश्व स्वास्थ्य सङ्गठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको भनेको थियो।

    मन्त्री पौडेलले प्रमाणपत्र बुझ्दै यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताए। उनले यो उपलब्धिलाई दिगो राख्न र नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान समेत गरे।

    “यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो, नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौं देश बनेको छ।” मन्त्री पौडेलले भने।

    स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका गरेको बताउँदै अबको लक्ष्य दादुरा उन्मूलन गर्नुरहेको बताए।

    “दादुरा निकै छिटो फैलिन्छ। यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछ।” उनले भने।

    परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको विस्तृत जानकारी दिए। उनले यो घोषणा नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा रहेको बताउँदै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताएम

    नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सम्भाजीराव पान्डवले नेपाल सरकार र साझेदारहरूलाई बधाई दिँदै यो नेपालका लागि गर्वको क्षण र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताए। 

    उनले यो सफलता निरन्तर उच्च खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट सम्भव भएको पनि बताए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend