काठमाडौं। काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले डेट एक्स्पायर र हाइड्रोलिक फेल भएका ३ हजार बढी एलपी ग्यास सिलिन्डर नष्ट गरेको छ।
सगरमाथा ग्यास उद्योग प्रालिले आफैंले उत्पादन गरिरहेको सगर ग्यासका डेट एक्स्पायर भएका र हाइड्रोलिक फेल भएका ३ हजार ३० थान एलपी ग्यासका सिलिन्डर नष्ट गरेको हो।
सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालले कम्पनीको बार्षिक कार्यतालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको बताए।
`आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर यस बर्ष नष्ट गरेका हौं। हामीले वार्षिक कार्यक्रम अनुसार एक बर्षमा संकलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेका छौं।´ अग्रवालले भने।
अग्रवालले म्याद गुज्रिएका तथा हाइड्रोलिक फेल भएका र कुच्चिएका सिलिन्डरलाई अत्याधुनिक उपकरणको सहायताले नष्ट गर्ने गरिएको जानकारी दिए।
‘हाइड्रोलिक परीक्षण फेल भएका, म्याद गुज्रिएका र कुच्चिएका सिलिन्डरहरु अत्याधुनिक मेसिनको सहायतामा डिस्पोजल गर्ने गरेका छौं।’ उनले भने।
दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योग प्रालि अन्तर्गतका ‘सगर ग्यास’का हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको संचालक अग्रवालले जानकारी दिए।
सिलिन्डर ग्यास विस्फोट हुनुको कारण सिलिन्डरको कारण मात्र नभए रेगुलेटर र पाइप पनि प्रमुख कारण हुने उनी बताउँछन्।
‘ग्यास विस्फोट हुनुमा सिलिन्डर मात्र दोषि हुँदैन्, रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपर्छ।´ उनी भन्छन्।
उनका अनुसार कम्पनीले समेत प्रत्येक डिपोहरुलाई ग्यास लिकेज हुन सक्ने सम्भावना र अवस्थाहरुबारे जानकारी गराउने गरेको छ। प्रज्वनशिल र संवेदनशिल वस्तु भएकाले कम्पनीले डिपोहरुलाई सचेत भएर काम गर्न आग्रह गर्दै आएको उनी सुनाउँछन।
सगरमाथाले आइतबार नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मन्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा सिलिन्डर नष्ट गर्ने काम सुरु गरेको हो।
सो अवसरमा नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जय कुमार मानन्धरले एनएच प्लान्ट ५३३ भन्ने गुणस्तर मापदण्ड अनुसार सगर ग्यास सिलिन्डर नष्ट गरिएको जानकारी दिए।
‘अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मितिबाट २० वर्षसम्म प्रयोग गर्न योग्य हुन्छ। पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गर्नुपर्छ। त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार सगरका तीन हजार ३० सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ।’ उनले भने।



