काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले बिरगंजको हैजा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितका तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
आइतबार गृह मन्त्रालयमा सम्पन्न केन्द्रीय सुरक्षा समितिको बैठमा गृहमन्त्री लेखकले तीनै वटा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
बैठकमा बिरगंजको झाडापखालाको अवस्था र तयारीबारे छलफल गर्दै मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
“विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ।” गृह प्रवक्ता काफ्लेले भने, “मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो।”
प्रवक्ता काफ्लेले बैठकमा बिरगंजमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परे तत्काल मेडिकल टिम परिचालन गर्ने तयारी भएको पनि जानकारी दिए।
बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोपलाई मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए।
“चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ।” प्रवक्ता काफ्लेले भने, “सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ।”
बैठकमा गृहसचिब गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए।



