काठमाडौं। भारी वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। वर्षापछि सडक जलमग्न भएपछि उपत्यकामा सवारी जाम बढेकाे छ।
शुक्रबार मध्याह्नदेखि भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरू अवतरण हुन सकेका छैनन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पानी परेकाले भिजिविलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएका छन्।
कतार एयरवेयजको दोहाबाट काठमाडौँ आएको र दिल्लीबाट काठमाडौँ आएका भिस्ताराका विमानसहित पाँचभन्दा बढी आन्तरिक उडानहरू पनि अवतरण गर्न नसकेर आकाशमै होल्डमा गरिएको छ।
आन्तरिक उडानका विमान समेत ल्याण्ड गर्न नसकेपछि उदयपुर, वीरगञ्ज, निजगढ लगायतका आकाशमा लामाे समय हाेल्ड भएको प्राधिकरणले जनाएको छ।
यता नेकपा एमाले पार्टी कार्यालय च्यासलभित्र पनि बाढी पसेकाे छ भने खाेला किनार र अन्यत्र विभिन्न सडक जलमग्न हुँदा सवारी अवरुद्ध भएका छन्।
बबरमहल क्षेत्रको मुल सडक जलमग्न भएको छ भने धोबिखोलामा बाढीको बहाब बढेको छ। काठमाडौंंमा टिकाथली क्षेत्रमा सबै भन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले भनेको छ।



