बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

टुइनेटरको संख्या न्यून, हिमाली तथा पहाडी क्षेत्रमा नियमित उडान कठिनाई

टुइनेटरको संख्या न्यून, हिमाली तथा पहाडी क्षेत्रमा नियमित उडान कठिनाई

images
२०८२ भाद्र ६ गते, शुक्रवार
२०८२ भाद्र ६ गते, शुक्रवार
  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने टुइनेटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको बताएका छन्।

    images

    शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित वृहत छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन्।

    images

    कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित नहुँदा संघीय सरकारको ध्यानाकर्षण गराएको थियो।

    छलफलमा मुख्यमन्त्री कंडेल, पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थित थियो।

    छलफलका क्रममा सहभागीहरूले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखेका थिए। मुख्यमन्त्री कंडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रहसमेत गरे।

    उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘टुइनेटर हब’ का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारे।

    सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए। उनले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताए। यात्रु नहुँदा पनि उडान गर्दा राज्यले विशेष सहुलियत दिनुपर्ने माग उनको थियो।

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए।

    उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिने बताएका हुन्।

    छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले टुइनेटर जहाजको कमीका कारण दुर्गम जिल्लामा सेवा विस्तार गर्न नसकिएको स्पष्ट पारे।

    उनले भने, “सम्बन्धित निकायसँग प्राविधिक छलफल गरेर मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुंगोमा पुग्नेछौँ।”

    उनका अनुसार हाल देखिएको टुइनेटर विमानको कमी समाधान गर्न मन्त्रालयले सातै प्रदेशका लागि सातवटा टुइनेटर जहाज खरिद गर्ने प्रस्ताव विषयगत समितिमा अघि सारेको पनि बताए।

    पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँग सहकार्यमा सेवा विस्तार गर्ने विश्वास व्यक्त गर्दै मन्त्री पाण्डेले भने, “नेपाल एयरलाइन्सका दुईवटा टुइनेटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन। दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नैपर्छ।”

    मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि अहिले सीमित संख्यामा मात्रै जहाज सञ्चालन भइरहेको तथ्य औँल्याउँदै अगाडी भने,, “हाम्रो देशमा ५३ वटा विमानस्थल छन्, तर टुइनेटर विमानको संख्या घट्दै गएको छ। यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकहरूको जीवन झनै कठिन हुन्छ। हुम्ला र लुक्ला बाहेक अरू धेरै विमानस्थल प्रायः निष्क्रिय बनेका छन्।”

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend