बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भैरहवामा ५ अर्ब ७९ करोडमा आयल निगमको अमेरिकन स्ट्यान्डर्डको नयाँ भण्डारण गृह बन्दै, टेन्डर असोजमा

भैरहवामा ५ अर्ब ७९ करोडमा आयल निगमको अमेरिकन स्ट्यान्डर्डको नयाँ भण्डारण गृह बन्दै, टेन्डर असोजमा

डीपीआर बन्यो

images
२०८२ भाद्र ४ गते, बुधवार
२०८२ भाद्र ४ गते, बुधवार
  • काठमाडौँ। नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा पेट्रोलियम पदार्थ भण्डारणका लागि अमेरिकन स्ट्यान्डर्ड अनुसारको सुविधा सम्पन्न भण्डारण गृह निर्माणका गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पाएको छ।

    images

    कुल साँढे २५ विगाहा क्षेत्रफलमा निर्माण हुने भण्डारण गृह (डीपो) अत्याधुनिक सुविधा सम्पन्न हुनेछ। डीपो निर्माणका लागि काठमाडौ विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागले डीपीआर तयार गरेको हो।

    images

    सो डीपीआर बुधबार निगमको सिनामंगलस्थित डीपोमा आयोजित एक कार्यक्रममा विभाग प्रमुख डा. विवेक बरालले निगमका भण्डारण क्षमता अभिबृद्धि परियोजनाका प्रमुख ईन्जिनियर प्रदीप यादवलाई बुझाएका हुन्।

    ईन्जिनियर यादवले सो भण्डारण गृहको कुल लागत ५ अर्ब ७९ करोड ३० लाख, ६४ हजार नौ सय ४१ रुपैयाँ हुने जानकारी दिए। यादवका अनुसार ईपीसी मोडलमा भण्डारण गृह निर्माणका लागि टेन्डर आह्वान हुनेछ।

    `ईपीसी मोडलमा यो भण्डारण गृहको टेन्डर हुनेछ, यसको लागत जति तोकिन्छ, त्यसबाट बढ्दैन, कुल लागत ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार ९४१ मा यो आयोजना बन्नेछ।´ डीपीआर बुझेपछि यादवले भने।

    असोजमा टेण्डर आह्वान हुने

    यादवका अनुसार यही भदौ भित्र वजेट सुनिश्चित गराएर डीपो निर्माणका लागि असोजमा टेन्डर आह्वान हुनेछ। यस्तै २०८२ मंसिरमा निर्माण सुरु भएर आयोजना २०८५ मंसिर भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

    हाल निर्माण हुने डीपो पुरानो भलबारी डिपो भन्दा ८ किलोमिटरको दुरी छ। नयाँ बन्ने डिपो भैरहवाको ओमसत्या गाउँपालिका ५ र रोहिणी गाउँपालिका ३ को सिमानामा बन्नेछ।

    ओमसत्या गाँउपालिकामा ७० प्रतिशत जग्गा पर्छ भने रोहिणी गाउँपालिकामा ३० प्रतिशत पर्छ। सो जमिन मध्ये ११ बिगाहा निगमले २०७३ सालमा खरीद गरेको थियो भने केही गाउँपालिकाको सहयोगमा रोहिणी नदीको पर्ती जमिन निगमले प्रक्रिया पूरा गरेर लिएको थियो। 

    ४० वर्ष पुरानो डीपोको विकल्प, सुरक्षित पनि

    निगमको भलवारीको भण्डारण गृह भने चालीस वर्ष पुरानो हो। सो भण्डारण गृहको क्षेत्रफलसमेत कम छ भने धेरै गाडीको चाप हुँदा असुरक्षित मानिन्छ। सो भण्डारण गृह बस्तीको बीचमा भएकालेसमेत असुरक्षित मानिएको हो। 

    निगमका सहायक प्रवन्धक इन्जिनियर अनुपम पराजुलीले भलवारी डिपोमा पेट्रोलका लागि ५१९ किलोलिटर, डिजेलका लागि ३,  हजार ४० किलोलिटर र मट्टितेलका लागि २८० किलोलिटर मात्र भण्डारण क्षमता रहेको र हालको क्षमताले माग धान्न सक्ने अवस्था नरहेको बताए।

    उनले डीपो पुरानो भएकाले र प्रदेशको एक साताको खपत मात्र धान्ने अवस्था रहेकोले अमेरिकी स्ट्यान्डर्ड अनुसारको सुविधासम्पन्न डीपो बनाउन लागिएको जानकारी दिए। अब भलबारीमा रहेको सो डीपो रोहिणी नदी किनारमा स्थानान्तरण हुनेछ भने करिब एक महिनाको माग धान्न सक्ने गरेर भण्डारण गर्न सक्ने क्षमताको हुनेछ।

    नयाँ बन्ने डीपोको भण्डारण क्षमता कति?

    नयाँ बन्ने अत्याधुनिक डीपोमा १८ हजार ६८८ किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता हुनेछ। जसमा डिजेलको भण्डारणका लागि मात्रै ४५०० किलोलिटरका कुल तीन वटा भर्टिकल ट्यांक हुनेछ। जहाँ १३ हजार ५०० किलोलिटर डीजेल भण्डारण गर्न सकिनेछ।

    यसैगरी २१ सय किलोलिटर क्षमताका दुई भर्टिकल ट्यांङ्क, ७६९ किलोलिटर क्षमताको एक ट्याङ्क भर्टिकल ट्यांङ्कमा गरेर पेट्रोलको ४ हजार ९६० किलोलिटर भण्डारण क्षमता हुनेछ।

    यस्तै मट्टितेल कुल २२८ किलोलिटर भण्डारण गर्ने क्षमता नयाँ बन्ने डीपोमा हुनेछ। त्यसका लागि ७६ किलोलिटर क्षमताका तीन वटा ट्याङ्क भर्टिकल ट्याङ्क हुनेछ।

    अटोमेसन प्रणाली

    भैरहवामा बन्न लागेको नयाँ डिपो पूर्णरूपमा अटोमेसन प्रणालीमा आधारित हुनेछ। जहाँ आगलागी नियन्त्रणका लागि २१ सय किलोलिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण हुनेछ। जसमा कुल ४२ सय किलोलिटर पानी भण्डारण हुनेछ।

    यसैगरी इन्धन लोडिङ र अनलोडिङका लागि ८–८ वटा वे बन्नेछ। पूर्णरूपमा अटोमेसनमा आधारित हुने डीपोका लागि जग्गा विकास, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर–फाइटिङ प्रणाली, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृह, सुरक्षा पोस्ट, ट्यांकर चालक विश्रामस्थल, महिला तथा पुरुष सुरक्षाकर्मीका लागि छुट्टाछुट्टै आवास हाताभित्र बन्नेछ।

    नदी किनारमा डीपो निर्माण हुने भएकाले ग्याबियन जाली र रिटेनिङ वालमार्फत डिपोलाई सुरक्षित बनाइने निगमले जनाएको छ।

    नेपाली इन्जिन नै सक्षम : डा. बराल 

    डीपो निर्माणका लागि डीपीआर बनाउने संस्था काठमाडौ विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा. विवेक बरालले नेपाली इन्जिनियरहरू पेट्रोलियम पूर्वाधार निर्माण गर्न सक्षम रहेको बताए।

    डीपीआर हस्तान्तरणपछि आफ्ना कुरा राख्दै बरालले आयल निगमले नेपाली इन्जिनियरहरु पनि ठुला पुर्वाधार निर्माणका लागि डीपीआर बनाउन अब्बल छन भन्ने प्रमाणित गर्न अवसर दिएको भन्दै निगमलाई धन्यवाद समेत दिए।

    उनले विदेशी संस्थाहरुलाई पुर्वाधार निर्माणको डीपीआरको जिम्मेवारी दिनु भन्दा नेपाली जनशक्तिलाई नै दिंदा देशको पैसा देशमै रहने समेत बताए।

    त्यस्तै, निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक तथा पेट्रोलियम विज्ञ सुशील भट्टराईले भलवारीमा भण्डारण क्षमता विस्तार गर्न असम्भव भएकाले नयाँ डीपो अपरिहार्य भएको बताए।

    हाल डीपो निर्माण हुने स्थानमा रहेको रोहिणी नदी किनारमा रिटेनिङ बाल लगाउने र जमिन सम्याउने काम सम्पन्न भएको निगमले बताएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend