बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्ती, शिक्षाविद् तुलाधरलाई सम्मान

नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्ती, शिक्षाविद् तुलाधरलाई सम्मान

images
२०८२ भाद्र ४ गते, बुधवार
२०८२ भाद्र ४ गते, बुधवार
  • काठमाडौं। सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्तीको अवसरमा शिक्षाविद् मिलन तुलाधरलाई सम्मान गरिएको छ।  

    images

    बुधबार काठमाडौंमा आयोजित ‘स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण’ कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र फाउन्डेशनका अध्यक्ष तथा कांग्रेस नेता अजयबाबु शिवाकोटीले तुलाधरलाई संयुक्त रुपमा सो सम्मान प्रदान गरेका हुन्। ‘नन्दप्रसाद जानुका स्मृति पुरस्कार’ नाममा प्रदान गरिएको सो पुरस्कारको राशी नगद २५ हजार र सम्मानपत्र थियो।

    images

    पुरस्कार प्राप्त गरेपछि शिक्षाविद् तुलाधरले आफूले गरेको सानो कामको पनि ठूलो कदर गरिएको भन्दै आभार व्यक्त गरे। उनले सरकारलाई शिक्षामा समान व्यवहार गर्न आग्रहसमेत गरे। शिक्षण क्षेत्रमा जाँदा विद्यालय पवित्र मन्दिर भएकाले त्यहाँभित्र प्रवेश गर्दा राजनीतिक जुत्ता बाहिरै फुकालेर जानुपर्ने उनले बताए। 

    कार्यक्रममा शिक्षाविद् तुलाधरले नन्दप्रसादले विद्यालय खोल्नका लागि अहम् त्याग गरेकोसमेत स्मरण गरे। नन्दप्रसादमा शैक्षिक र राजनीतिक दुवै दक्षता भए पनि कहिल्यै एकअर्कामा जोडिन नदिएकै कारण आज समाजले नन्दप्रसादलाई सम्झिरहेको बताए। 

    २००५ सालमा स्थापित गरी २०१७ सालमा स्वीकृत भएको क्षमावती माध्यमिक विद्यालयमा २०२८ सालदेखि कार्यरत रहेर शिक्षामा योगदान दिएका तुलाधरलाई सम्मान गरिएको हो। 

    ०७२ को भूकम्पपछि तुलाधरले विद्यालयलाई पुरानै अवस्थामा फर्काउन महत्वपूर्ण भूमिका खेलेका थिए। तुलाधरले आफूले सम्मानबापत पाएको उक्त रकम फाउन्डेशनकै उत्थानका लागि समर्पण गरेका छन्। 

    कार्यक्रममा गत वर्ष भएको फाउन्डेशनको पहिलो कार्यक्रममा उपस्थित वक्ता, अग्रजले पठाएका लेख र अन्य लेख थपेर तयार पारिएको नन्दप्रसादलाई समर्पित स्मारिका विमोचन गरिएको थियो।
     
    इतिहासमा उत्खनन् हुन नसकेका दूरदराजमा कर्म खेलेका सबैलाई जोड्ने प्रयास अन्तर्गत यो स्मारिका विमोचन गरिएको हो। 

    कसले के भने  ? 

    कांग्रेस महामन्त्री गगन थापाले सही वा गल्ती के भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि विगतको सम्झना नगरी नहुने भन्दै विगतमा फर्कदा नन्दप्रसादजस्ता व्यक्तित्वको योगदानलाई सधै स्मरण गर्नुपर्ने बताए ।

    उनले कांग्रेस संस्थापक बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको व्यक्तित्वसँगै उनीहरुका विचारलाई लिएर प्रशिक्षण दिइँदै आएको स्मरण गर्दै नन्दप्रसाद जस्ता व्यक्तित्वका पनि पुस्तकहरु प्रकाशित गरी योगदानको सम्मान गर्नुपर्नेमा जोड दिए।

    उनले सम्मानित व्यक्तित्व तुलाधरले भनेजस्तै शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर नै राख्नुपर्नेमा जोड दिए। 

    विभिन्न जिल्ला र ठाउँ घुम्दा आफूले यथेष्ट प्रेरणा पाएको भन्दै नेता थापाले हिजो पार्टीमा सत्कर्म गर्ने मानिसहरु नभएको भए कांग्रेस अहिले टिक्दै नटिक्ने दाबी गरे। उनले पहिलेका योगदानलाई अजयबाबु शिवाकोटीले फाउन्डेशन नै खोलेर नन्दप्रसादको योगदानलाई स्मारिकाबाट बाहिर ल्याएको भन्दै अन्य थुप्रै त्यस्ता व्यक्तित्वको बारेमा पनि लेख्नुपर्ने बताए। 

    ‘अजयबाबुजीको पार्टीको भूमिका नै प्रजातन्त्र सेनानीको उत्खनन् गर्नु भएकाले त्यसलाई निष्कर्षमा पुर्याउन अहम् भूमिका खेल्नु हुने नै छ। कांग्रेसको पुस्तकालय विभागका संयोजकसमेत रहेका शिवाकोटीले यो वर्षमात्रै १५–२० ओटा पुस्तकसमेत तयार गर्न लाग्नु भएको छ।’ कांग्रेस महामन्त्री थापाले भने।

    नेता थापाले कांग्रेसले चुनाव जिते वा हारे पनि कांग्रेस राष्ट्रिय शक्ति भएको भन्दै समयक्रमअनुसार कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

    उनले आजको मुद्दा भनेको देशमा चरम असन्तुष्टि भएकाले ती सबै असन्तुष्टिलाई बुझेर समस्याको समाधान गर्नुपर्ने बताए। 

    ‘कांग्रेसले चुनाव लड्छ, चुनाव जित्न इच्छा राख्छ, सत्ता वा शक्तिमा पुग्छ, सत्तामा पुग्नु त्यो सम्झौता हो। तर सम्झौताले धेरै माथि नपुर्याउने भएकाले सशर्त भन्दा पनि माथि हामीले राष्ट्रिय शक्ति बन्नुपर्नेछ’, नेता थापाले भने। 

    जनकल्याणलाई केन्द्रमा राखेर गरिने राजनीतिलाई कांग्रेसले मूल मन्त्रका रुपमा अगाडि बढाउनु पर्नेमा नेता थापाको जोड थियो । 

    संख्याको आधारमा गरिने निर्णय बहुमतले अगाडि बढ्ने भए पनि पार्टीभित्र गरिने काम आम कार्यकर्ताले र देशका लागि गर्ने निर्णयलाई आम नागरिकले स्वीकार गरेका छन् कि छैनन् भनी हेरेर वैधानिकता हासिल गर्न सक्नुपर्ने उनले बताए। 

    नेता थापाले आफूहरुले गरेका निर्णयहरु वैध छन् वा छैनन् भनी प्रत्येकपटक जाँच्नुपर्ने बताए। ‘हामी टिक्ने धन्धामा मात्र लाग्यौं भने हामी धेरै अगाडि बढ्न सक्दैनौँ। आजका जस्ता कार्यक्रमहरु धेरै गर्नुपर्छ। हरेक जिल्लामा नन्दप्रसादजस्ता नेताहरुलाई सम्झनु पर्छ’, उनले भने। 

    कार्यक्रममा गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले नन्दप्रसादहरूलाई बिर्सन नहुने बताए। 

    उनले भने, ‘हामीले लोकतन्त्र र राम्रो व्यवस्थाको कुरा गर्छौं यो त्यत्तिकै आएको हैन। जब सुन्दर भवन हामीले देख्छौँ त्यसको माटोभित्र जग हुन्छ। हामीले त्यो जगलाई बिर्सिए त्यो घर ढल्छ। त्यही अनुसार अहिलेको लोकतन्त्र प्रजातान्त्रिक सेनानीको जगबाटमात्र प्राप्त भएको हो। नन्दप्रसादजीहरु भएकालेमात्र लोकतन्त्र स्थापना भएको हो। नन्दप्रसादजीजस्ता हजारौँ सपूतहरु हुनुहुन्छ। उहाँहरुकै कारण शैक्षिक समाज स्थापित भएको हो।’

    कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमले कांग्रेसका खम्बा नन्द्रप्रसाद शिवाकोटीलाई उत्खनन् गरेजस्तै उनी जस्ता गुमनाम सयौँ व्यक्तित्वलाई खोज्नु पर्ने बताइन्।

    कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले समाजमा योगदान दिनेहरुको सम्झना सधै रहने भन्दै नन्दप्रसाद शिवाकोटीको योगदानले सदा सम्झनायोग्य भएको बताए। नन्दप्रसादले राणाकालमा शिक्षामा दिएको योगदान नै महत्वपूर्ण भएको उनले बताए।

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोला शिवाकोटीले समाज परिवर्तन शिक्षाबाट मात्र सम्भव छ भन्ने नन्दप्रसादको नीति नै सबैभन्दा अब्बल योगदान भएको बताइन्। नन्दप्रसादले दिएको शिक्षाको योगदान र प्रजातन्त्र सेनानीको रूपमा दिएको योगदान नै अविश्मरणीय भएको बताइन्। बास्तोलाले नन्दप्रसाद दोलखाकोमात्र नभइ राष्ट्रकै गहना भएकोसमेत बताइन्। 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाले नन्दप्रसाद शिवाकोटीले दिएको योगदानको प्रशंसा गरे। उनले पार्टीलाई प्रजातन्त्र सेनानीले योगदान दिएको भन्दै सबै प्रजातन्त्र सेनानीको सम्मान गर्नुपर्नेमा जोड दिए। 

    कार्यक्रममा शिक्षासेवा सुरेन्द्र सिटौलाले फाउन्डेशनलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे। 

    त्यस्तै फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा नन्दप्रसाद नै आफ्नो राजनीतिक र सामाजिक सेवाको प्रेरक व्यक्तित्व भएको भन्दै भोलिका दिनमा तमाम सामाजिक व्यक्तिहरुरूको इतिहास उत्खनन् गर्ने जनाए। 

    उनले अब प्रत्येक वर्ष नन्दप्रसाद जानुका फाउन्डेशनले कार्यक्रम गर्ने र अब एउटा विषयमा केन्द्रित भएर स्मारिका निकालिने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend