मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल रुबेला मुक्त घोषणा

नेपाल रुबेला मुक्त घोषणा

images
२०८२ भाद्र २ गते, सोमवार
२०८२ भाद्र २ गते, सोमवार
  • काठमाडौं। नेपाल रुबेला रोग मुक्त देश घोषणा भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरेको हो।

    images

    क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समिक्षा तथा मूल्याङ्कन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको थियो।

    images

    डब्लुएचओका दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले दक्षिण-पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई आधार मान्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरे।

    उनले भने, “नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ।”

    यो संगै नेपाल, रूबेला निवारण गर्ने विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा छैटौँ देश बनेको छ। भूटान, उत्तर कोरिया, माल्दिभ्स
    र टिमोर–लेस्टेले दादुरा निवारण गरिसकेका छन् भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र नेपालले  रूबेला निवारणमा पनि सफलता प्राप्त गरेका छन्।

    स्वास्थ्यमन्त्री प्रदीप पौडेल लेख्छन, `यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो।´

    मन्त्री पौडेलले सामाजी संजालमा अगाडी लेखेका छन्।`स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध छ।´

    मन्त्री पौडेलले त्यसका लागि निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग-निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरेका छन्।

    `यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु।´ उनले भनेका छन्।

    नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो। यस्तै सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा राष्ट्रिय खोप तालिकामा थप गरिएको थियो।

    यसैगरी भूकम्प र कोभिड–१९ जस्ता स्वास्थ्य आपतकालिन अवस्थाका बीचमा पनि खोप अभियान जारी राखिएको थियो भए २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरुमा पहुँच बृद्धि गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

    त्यसैगरी, सन् २०२४ सम्ममा, नेपालले रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशत भन्दा बढी बालबालिकामा पुर्‍याउन सफल भएको थियो।

    दादुराजस्तै देखिने रुबेलाअर्थात् जर्मन दादुरा, भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेष गरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ। जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपांगतालगायतका समस्या देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।

    नेपालले  सन् २०२६ सम्ममा दादुरा र रूबेला निवारण गर्ने लक्ष्य निर्धारण गरेका थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend